हर्कले गरे बाचा पुरा- 'काकाकुल’ धरानमा झर्‍यो पानीको फोहरा - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हर्कले गरे बाचा पुरा- ‘काकाकुल’ धरानमा झर्‍यो पानीको फोहरा



धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानमा पानी ल्याउन सफल भएका छन्। स्थानीय तह निर्वाचनको बेलामा उनको मुख्य मुद्धा नै धरानमा पानी ल्याउने थियो।

सोमबार धरान–१३ जानकी चोकमा पानीको फोहोरा झारेर मेयर साम्पाङसहित स्थानीयले खुसी साटेका हुन्।

धरानमा पानी ल्याएको भिडिओ सामाजिक सञ्जालबाट पोस्ट गर्दै मेयर साम्पाङले खुसी साटासाट गरेका छन्। उक्त भिडिओ पोस्ट गर्दै उनले लेखेका छन्, ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ। सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा।’

धरानमा पानी ल्याउनका लागि साम्पाङले लामो समयदेखि अभियान संचालन गरेका थिए। यसअघि निर्वाचित जनप्रतिनिधिसँग साम्पाङ ‘पानी देउ’ दबाव समूह नै बनाएर लागेका थिए।

पहाड गाउँ खोटाङबाट धरान झरेका उनी बितेको १० वर्षदेखि धरानबासीको प्रमुख समस्या रहेको पानी माग्दै आन्दोलनरत थिए। पूर्वको काकाकुल सहरका रुपमा परिचित धरानमा हरेक पटक खानेपानी चुनावी एजेन्डा बन्छ अनि सेलाउँदै गरेको छ। तर, यो पटक भने साम्पाङले धरानको जमुना चोकमा पानी झारेका छन्।

यो पटकको निर्वाचनमा मेयर निर्वाचित भएसँगै साम्पाङ निरन्तर पानी ल्याउने अभियानमा लागेका थिए।