दाल भात तरकारीबारे के भन्छन् हरिवंश आचार्य ? - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

दाल भात तरकारीबारे के भन्छन् हरिवंश आचार्य ?



काठमाडौं –

चलचित्र दालभात तरकारीको औसत बिजनेस तथा नकारात्मक टिप्पणी धेरै आउनु भनेको मह संचारको लागि ठूलो झट्का हो । चलचित्र रमाइलो भएपनि मह संचारबाट दर्शकले ठूलो अपेक्षा गरेको हुन्छ । त्यो अपेक्षा अनुरुप नभएकोले मह संचार आलोचित बनेको छ । यदि यहि चलचित्र अरु कसैको हुन्थ्यो भने दर्शकले चित्त बुझाउने बाटो हुन्थ्यो ।

दालभात तरकारी चलचित्रबारे हरिबंश आचार्य भन्छन् – हामीले स्टेज फिल्मको रुपमा यो चलचित्र बनाएका हौँ । स्टेज फ्लिमको हामीकहाँ अभ्यास नभएकोले पनि यसको बढी आलोचना भयो । पछि गएर दर्शकहरुले स्टेज फिल्मको रुपमा यो चलचित्र मन पराउनुहुनेछ । चलचित्रमा आबाज धेरै लाउड भयो भन्ने दर्शकको प्रतिक्रिया पायौं । त्यसमा कमजोरी भएकै हो । तर झगडाको दृश्यमा लाउड हुनु स्वाभाविक हो । झगडा गर्दा कोहि पनि बिस्तारै बोल्दैनन् ।

उनले भने – आम दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ । तर केहि मेडियामा सुरु देखि नै नकारात्मक प्रचार भइरहंदा फिल्म हेरेकाले भन्दा नहेरेकाले राम्रो छैन भनेर माउथ टु माउथ प्रचार भयो । हामीले सुरुमै स्टेज चलचित्र भनेर घोषणा गरेको भए तथा मेडियामा ध्यान पुर्याउन सकेको भए आम दर्शकको चित्त अलि बुझ्ने थियो ।

हरिबंश आचार्यले थपे – हलिउड, बलिउडमा पनि सुपरस्टारका धेरै फिलिम फ्लप भएका उदाहरणहरु धेरै छन् । तसर्थ हामीले एउटा पाठ सिकेका छौं । चलचित्रमा केहि कमजोरी भएको हो । यसको अपजस मैले नै बोक्नुपर्छ । मैले नै लेखेको कथा, पटकथा हो । सबै कलाकारले राम्रो अभिनय गर्नुभएको छ ।

अब कस्तो फिलिम बनाउनुहुन्छ भन्ने जिज्ञासामा उनले भने – हामीले हतार गरेर फिलिम बनाउनु हुँदैन । आगामी चलचित्र कथानक, सामाजिक बिषय बस्तुमा आधारित, प्रहशन प्रधान नै बनाउने हो । दर्शकको मन जित्ने चलचित्र बनाउने छौं । दर्शक नै हाम्रो भगवान हुनुहुन्छ । भगवानलाई खुसी बनाउनु हाम्रो कर्तब्य हो ।