हराएको स्वाधीनता - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

हराएको स्वाधीनता



श्रीमान्

म जन्मिदा स्वतन्त्र जन्मिएकी हुँ !

नपत्याए सोधी हेर्नोस् एक पटक
गवाहीमा हुनुहुन्छ मेरा आफ्नै माता पिता !

म सत्य बोल्दैछु
भगवान् कसम
त्यो बेला थिएन म मा कुनै परिबन्ध !

सुकोमल र नाजुक शरीरमा
मेरो मन्जुरी विरुद्ध
भोटो र सलवार लगाइदिएर
पहिलो पटक आफ्नैले वध गरेका हुन् मेरो स्वतन्त्रता !

बिस्तारै परम्परा निभाउने बहानामा
समाजका विधानहरू पालना गर्न
छेडिए नाक कानहरू ,
पहिराई
चुरा , कडा हात देखि पाउ सम्म !
मेरो शून्य निराकार मस्तिष्कमा
पहिलो पटक बनाइयो लैङ्गिकताको विभेदपूर्ण आकार !

त्यसै गरी क्रमशः हनन गरियो
पटक पटक हमला गरियो मेरो स्वतन्त्रता माथि !

कहिले सभ्यता पढाउन ,
कहिले मर्यादा सिकाउन ,
कहिले शिष्टता देखाउन ,
बारम्बार भए यस्ता कार्यहरू
सदैव तोकियो मेरा खुट्टाहरूमा
एउटा साँगुरो लक्ष्मणरेखा !

श्रीमान्

म त्यहाँ जान पाइन
जहाँ जहाँ मलाइ पुग्न मन लाग्थ्यो
विवशता बन्यो साँघुरो संसारमा खेल्नु

उफ्रिन पनि त्रसित हुनु पर्‍यो
कतै छुन्छन् कि पैतालाहरू लक्ष्मणरेखा !

म त्यति त्यति मात्रै बोल्न सकेँ
जति जति मलाइ बोल्न अनुमति थियो !

आकाशमा उडेका चराहरू नियाल्दा
म मा रहर नउब्जिएका होइनन् उडानको !

रातमा बलेका
झिलिमिली जून तारा देख्दा
मलाइ कम्ता रहर लाग्थ्यो उचाइको ?
पखेँटा लगाउँ र जाँउ उनीहरूकै नजिक !

तर कहिल्यै हेरेन मलाइ आकाशले
त्यो निलो आकाशको स्वतन्त्रताबाट
सदैव वर्जित भएँ म !

जब जब म तोड्न खोज्दै थिएँ
कथित मर्यादाको पर्खाल ,

जब जब म चिर्न खोज्दै थिएँ
प्रतिबन्धित आवाज ,

चुँडाउन खोज्न लाग्दै थिएँ
भयको हतकडी ,

अर्को ठुलो विडम्बना
सुम्पिइयो कसैलाइ मेरो सर्वाधिकार !

“म आफू आफ्नो रहिन”

चलेन आफै माथि आफ्नै अधिकार !

म फेरि निरीह भएँ ,लाचार भएँ
चलिरहेँ दोस्रोको इसारामा !

कोही निरङ्कुश बनेर परिचालन गरिरयो !

हो श्रीमान् !

म पटक पटक
यसै गरी गुमाइरहेँ आफ्नो स्वाधीनता !
कहिले समाजबाट ,
कहिले आफ्नैनाट ,कहिले पराइबाट !
कहिले समय , परिस्थितिबाट ,
त कहिले नियति बाट !

यस्तो लाग्छ
म यति बेला कैद छु त्यस्तो चार दिवार भित्र
जहाँ दूर दूर सम्म पनि देखिँदैन स्वइच्छाको प्रकाश !
म डराउँछु श्रीमान् यो घनघोर अँध्यारो सँग
बेला बेला अवरुद्ध हुन खोज्छ मेरो श्वास !

र त्यही मेरो चारै दिशा तैनाथ छन्
कपटी जेलरहरू

मलाइ गिज्याइरहेछन् , सताइरहेछन् !
जहाँ म बिचमा कैद छु !

चिच्याइरहेछु ,
कराइरहेछु आफ्नै उन्मुक्तिको निम्ति !

यदि  सुनुवाई हुन्छ भने श्रीमान्
म अपिल गर्छु , अनुनय विनय गर्छु
लुटिएको पराधिनता फिर्ता ल्याइ
सुम्पियोस म माथि मेरो एकाधिकार ।।

सुमिना ‘अभिलाषी’
बुटवल रुपन्देही !