माओवादीमा आउन प्रचण्डले गरेको प्रस्तावमा हमालले भने- 'त्यो सम्भावना छ' - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

माओवादीमा आउन प्रचण्डले गरेको प्रस्तावमा हमालले भने- ‘त्यो सम्भावना छ’



काठमाडौं- अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर हमालले करिब आधा घण्टा छलफल गरेका थिए ।

भेटको अवसर नेकपा माओावदीको भातृसंगठन जनसांस्कृतिक संघका संयोजक समेत रहेका सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन्।

भेटमा समसामयिक देशको राजनीतिक र फिल्म उद्योगको विषयमा छलफल भएको चेतन सापकोटाले बताए।

भेटवार्तामा हमालले प्रचण्डको खुलेर प्रशंसा गरेका छन् । कलाकारहरुको राजनीतिमा प्रवेशलाई जोडेर अध्यक्ष प्रचण्डले अभिनेता हमाललाई राजनीतिमा आउन आग्रह गरेका थिए । प्रचण्डले अनौपचारिक रूपमा हमाललाई माओवादीमा आउन आग्रह गरेका थिए ।

प्रचण्डको प्रश्नको जवाफमा हमालले त्यो सम्भावना रहेको तर अहिले त्यसबारे आफूले केहि नसोचेको बताएका थिए । जवाफमा हमालले राष्ट्रिय राजनीतिबाट कोही पर रहन नसक्ने भन्दै सम्भावना त्यो रहेको बताए।

हमालसँगको भेटका क्रममा प्रचण्डलेनेपाली फिल्म उद्योगप्रति चिन्ता व्यक्त गरेको बताइएको छ। उनले नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन राज्यले पनि भूमिका खेल्नुपर्ने बताएका थिए ।

हमालले भने मुलुकमा सबैभन्दा पहिला राजनीतिक स्थिरता हुनुपर्ने, त्यसपछि मात्रै अन्य कुरा बिस्तारै राम्रो हुँदै जाने बताए।

कलाकारले खुलेर राजनीतिमा आउने परिपाटीको विकास प्रचण्डको पालाबाट भएको बताउँदै हमालले भने, ‘तपाईंकै पालाबाट कलाकारले राजनीतिमा खुलेर आउने साहस गरेका छन्। तपाईंले कलाकारलाई गर्ने व्यवहार राम्रो लाग्छ।’