हलमा एक्लै ‘हैरान’! - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

हलमा एक्लै ‘हैरान’!



हरेक वर्ष सयभन्दा बढी फिल्म रिलिज हुने गर्दछन् । ठूला ब्यानर र स्टार कलाकारको अभिनय रहेका फिल्मले मात्र सोलो रिलिज पाउँछन् । नभए त हरेक हप्ता दुईभन्दा बढी फिल्मको भिडन्त अचेल सामान्य भइसकेको छ ।

तर, यस हप्ताको फ्राईडे रिलिज अन्तर्गत देशैभर प्रदर्शनमा आएको फिल्म ‘हैरान’ ले भने सोलो रिलिजको अवसर पाएको छ । ‘शत्रु गते’ पछि नेपाली फिल्मले गतिलो व्यापार गर्न नसकिरहेको अवस्थामा अहिले सबैको ध्यान ‘हैरान’ माथी छ । अब यसले सोलो रिलिजको फाइदा कस्तो उठाउला हेर्न बाँकी छ ।

शुक्रवारबाट देशभरका ८० बढी हलमा प्रदर्शनमा आएको यसका निर्देशक सौगात विष्ट हुन् । उनले विश्वकै कान्छा निर्देशकको रुपमा आफ्नो नाम गिनिज वर्ड रेकर्डमा दर्ता गराएका छन् । उनले यसअघि ‘लभ यू बाबा’ निर्देशन गरेका थिए । यो फिल्मले बक्सअफिसमा सुखद कलेक्सन गर्न नसकेपनि दर्शकबाट भने राम्रो ‘फिडब्याक’ पाएको थियो । अब ‘हैरान’ ले बक्सअफिसमा ऐश्वर्य र वाहवाही कस्तो कमाउला यसतर्फ सबैको चासो केन्द्रित छ । निर्देशक विष्ट आफू निर्देशित फिल्म ‘लभ यू बाबा’ युट्युबमा हेरेर राम्रो लागेमात्र ‘हैरान’ हेर्न हलमा जान आग्रह गर्छन् ।

फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय छ । यसलाई कमेडी र एक्सन जनरमा तयार पारिएको छ ।

डान्स फेभरको ब्यानरमा निर्मित ‘हैरान’ मा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ फिल्मको डीओपी नवराज उप्रेती र छायाँकार निरज कँडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।