हैट ! रोनाल्डो... - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

हैट ! रोनाल्डो…



एजेन्सी
आधुनिक फुटबलका सुपरस्टार तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा पोर्चुगलले उपाधिको दाबेदार स्पेनलाई बराबरीमा रोक्न सफल भएको छ ।

फिस्ट स्टेडियम सोचीमा शुक्रबार राति भएको खेलमा रोनाल्डोको ह्याट्रिक मद्दतमा पोर्चुगलले स्पेनलाई ३–३ गोलको बराबरीमा रोक्न सफल भएको हो । रोनाल्डोको यो करियरको ५१औं ह्याट्रिक हो ।

रोनाल्डोले खेलको चौथो, ४४औं र ८८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा स्पेनका डिएगो कोस्टाले २ तथा नाचो फर्नान्डेजले १ गोल गर्न सफल भए । स्पेनविरुद्धको खेलमा ह्याट्रिक गरेसँगै रोनाल्डो रसिया विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । यस्तै, उनी विश्वकपको चारै संस्करणमा गोल गर्ने चौथो खेलाडी बने ।

यसअघि जर्मनीका युवे सिलेर, ब्रािजलका पेले र जर्मनीका मिरोस्लाभ क्लोजले चार संस्करणमा गोल गर्न सफल भएका थिए । यस्तै, रोनाल्डो कुनै पनि ठूला प्रतियोगिताको आठै संस्करणमा गोल गर्ने खेलाडी बने । उनले युरोकपको चार विश्वकपको चार संस्करणमा गोल गर्न सफल भएका हुन् । रोनाल्डोले २००६, २०१० र २०१४ को विश्वकपमा गोल गरेका थिए ।

रोनाल्डोले खेलको चौथो मिनेटमा नै गोल गर्न सफल भएको थियो । डी–बक्समा रियलका आफ्नै सहकमी नाचो फर्नान्डेजले लडाएपछि पोर्चुगलले पेनाल्टीको मौका पाएको थियो । जसलाई रोनाल्डोले कुनै गल्ती गरेनन् । त्यसको २० मिनेटपछि डिएगो कोस्टाले गोल गर्दै खेल बराबरीमा ल्याए । तर, ४४औं मिनेटमा पुनः रोनाल्डोले गोल गर्दै पहिलो हाफमा पोर्चुगललाई २–१ को अग्रता दिलाए ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफ झनै रोमाञ्चक बनेको थियो । ५५औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल पुनः २–२ गोलको बराबरीमा ल्याउँदा ५८औं मिनेटमा नाचोको राइट फुटेट सट दोस्रो बारमा लाग्दै गोलमा परिणत भएपछि स्पेनले खेलमा पहिलोपटक अग्रता बनाउन सफल भएको थियो ।

तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा रोनाल्डोले फ्रिकिकमा दर्शनीय गोल गर्दा खेल ३–३ गोलको बराबरीमा पुग्यो । करिब २५ यार्डमा प्राप्त फ्रिकिक प्रहार स्पेनका गोलरक्षक डेभिड डे हेयाले रोक्ने कुनै अवसर नै पाएनन् ।

त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल ३–३ गोलको बराबरीमा सकियो । बराबरीपछि दुवै टोलीले अंक बाँडेका छन् । यो समूहमा इरान ३ अंकसहित समूहको शीर्ष स्थानमा छ । इरानले शुक्रबार नै मोरक्कोलाई १–० ले पराजित गर्दै महत्वपुर्ण ३ अंक जोड्न सफल भएको थियो ।