घोडाघोडी नगर स्तरीय कृषि हाट बजार भवनको शिलान्यास
विशाल पाण्डेय / कैलाली ।
घोडाघोडी नगरपालिका -१ सुखडमा कृषि हाट बजार भवनको शिलान्यास भएको छ । प्रदेश सभा सदस्य अमर साउद तथा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले संयुक्त रुपमा आइतबार घोडाघोडी नगर स्तरीय हाट बजार भवनको शिलान्यास गरेका हुन् ।
कृषकहरुले उत्पादन गरेका बस्तुहरु एकै ठाउबाट सबैले उपभोग र बजारिकरण गर्न सजिलो होस भन्ने उदेश्यले हाट बजारको निर्माण गर्न लागिएको प्रदेश सभा सदस्य अमर साउदले बताए ।
बिहान बिहानै टाउकोमा तरकारी बिक्री गरेर हिड्नुपर्ने बाध्यताको मध्यनजर गरेर कृषि हाट बजारको स्थापना गर्न लागिएको साउदले बताए । उनले बिहानै तरकारी बिक्री गर्नको लागि घर घरमा पुग्न भन्दा हाट बजारमा बिक्री गर्न पाउदा चलनचल्तीको दरका साथै समयको पनि बचत हुने बताए । साउदले हाट बजार व्यवस्थापनका लागि आगामी आर्थिक बर्षमा थप पहल गर्ने समेत बताए ।
सुदुर पश्चिम प्रदेश सरकार भुमी व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालयको चालू आर्थिक बर्ष २०७६/०७७ को ५० लाख तथा ८ लाख ८३ हजार रुपैयाँको जनसहभागिता गरि कुल ५८ लाख ८३ हजार रुपैयाँ को लागतमा आगामी दुई महिना भित्र निर्माण सम्पन्न गर्ने गरि आइतबार शिलान्यास गरिएको हो ।
घोडाघोडी बहुमुखी क्याम्पसको ७ कठ्ठा जग्गा १० वर्षका लागि लिज (भाडा)मा लिएर सम्झौता अनुसार काम सुरु गर्न लागिएको सुखड कृषि बजार व्यवस्थापन समितीका अध्यक्ष अर्जुन भट्टले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष ,घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंह , घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आचार्य लगायतको सहभागिता रहेको थियो ।
