ज्ञानेन्द्र शाहीलाई तत्काल कारबाही गर्न सांसदको माग - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

ज्ञानेन्द्र शाहीलाई तत्काल कारबाही गर्न सांसदको माग



राष्ट्रियसभाको आज बैठकमा सांसद चक्रप्रसाद स्नेहीले प्रमुख राजनीतिक दलका शीर्ष नेता र जननिर्वाचित संस्थामाथि गालीगलोज गर्ने ज्ञानेन्द्रबहादुर शाहीमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको शून्य समयमा उनले भने “लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्नेलाई कारवाही हुनुपर्छ । शीर्ष नेता र जननिर्वाचित संस्थामाथि जे पायो त्यही बोल्न कसैलाई छुट छैन ।” सांसद खिमकुमार विश्वकर्माले सर्वोच्च अदालतबाट एनसेलको लाभकर सम्बन्धी फैसलामाथि सरकारले पुनर्विचार गर्न आवश्यक रहेकामा जोड दिँदै यससम्बन्धमा सरकारको धारणा सार्वजानिक गर्न माग गरे ।

सांसद कविता बोगटीले हुम्ला जिल्लामा नेपाल वायुसेवा निगमको हवाई उडान नियमित गर्न माग गर्दै चाडबाड आउन लागेको समयमा समयमा दुर्गम क्षेत्रमा थप हवाई उडानको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद उदया शर्मा पौडेलले भृकुटीमण्डप अगाडि सार्वजानिक साधनले यात्रु ओराल्ने र चढ्ने व्यवस्था किन बन्द गरियो भन्ने प्रश्न गर्दै यात्रुको समस्यालाई ध्यानमा राखी ती स्थानमा तुरुन्त यात्रु चढ्न पाउने व्यवस्था मिलाउन माग गरे।

सांसद अनिता देवकोटाले शान्तिसुरक्षा कायम गर्न सरकारलाई संवेदनशील बन्न आग्रह गर्दै चाडवाड आउन लागेको सयमा थप शान्ति सुरक्षाको प्रबन्ध मिलाउन ध्यानाकर्षण गराए ।