ज्ञानेन्द्र मल्लले भने: चोट पुगे पनि देशका लागि खेल्छु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

ज्ञानेन्द्र मल्लले भने: चोट पुगे पनि देशका लागि खेल्छु



काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटलाई सबैभन्दा माथि राखेर मैदानमा उत्रिएको बताएका छन्।

मंगलबार अभ्यासका लागि टियु मैदान कीर्तिपुरमा पुगेका मल्लले क्रिकेट वर्षौं देशका लागि खेलेको र सामान्य कुरा विवादका रुपमा बाहिर आउँदा आत्मासम्मानमा चोट पुगेको बताए।

‘वर्षौंदेखि देशका लागि खेल्दै आएका छौं। तर सामान्य कुरा ठूलो विवाद बनाएर जे गरियो‚ भयो त्यो आत्मासम्मानमा चोट पुर्‍याउने विषय थियो‚’ उनले भने‚ ‘तर‚ जीवनमा मुभ हुनुपर्छ, सधैंका लागि कप्तान हुन आएको पनि होइन। हुने पनि होइन। पहिला पनि खेलेको थिएँ अब पनि खेल्छु। त्यो नै मुख्य कुरा होर। देशका लागि, मेरो लागि र परिवारका लागि खेल्छु।’

मल्लले सामान्य असन्तुष्टिबारे पहिले नै यति छलफल भएको भए यति परसम्म नपुग्ने बताए। उनले आफ्नो बोर्डलाई टाढा राखेर अघि बढ्ने उद्देश्य नभएको प्रष्टीकरण दिए। मल्लले बोर्डविरुद्ध जाने कहिले पनि नसोचेका तर केही कुरारु राख्दा विवादमा तानिएको बताए।

लामो सममदेखि नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीचको विवादमा केन्द्रविन्दुमा रहेका राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्य मल्लले क्यान र प्रशिक्षकले आफ्ना असन्तुष्टि समाधानमा वचन दिएको बताए।

मल्लले क्रिकेट नै सबैथोक भएकाले विवाद बिर्सिएर अब विश्वकप छनोटमा केन्द्रित हुने बताए। ‘महत्त्वपूर्ण प्रतियोगिताको रुपमा रहेको विश्वकप छनोट नजिकिएको छ‚’ उनले भने‚ ‘अब सबै विवाद बिर्सिएर विश्वकप छनोट खेल्ने छौं।’

उनले आफ्ना असन्तुष्टिका विषयमा क्यान र प्रशिक्षक सकरात्मक रहेको बताए। ‘हामीलाई कारवाही गरिएको कुरा फिर्ता हुने भयो। साथै हामीलाई थाहै नदिई ग्रेडिङ गरिंदा केही खेलाडी छुटेका थिए‚’ मल्लले भने‚ ‘उनीहरुलाई इन्सेन्टिभ दिन क्यान र प्रशिक्षकले वचन दिनुभएको छ। राष्ट्रिय टिमका खेलाडीका लागि ग्रेडिङ पारिश्रमीक मात्र नभएर सम्मान पनि हो।’