गुठीभित्रको धर्म संस्कृति नष्ट गरी धार्मिक संस्कार नष्ट नगर्न पूर्व राजाको चेतावनी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

गुठीभित्रको धर्म संस्कृति नष्ट गरी धार्मिक संस्कार नष्ट नगर्न पूर्व राजाको चेतावनी



काठमाडौँ । गुठी विधेयकले राजधानी काठमाडौँमा तरङ्ग पैदा गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खोलेका छन् । केही समयदेखि बैंककको थाइल्याण्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले गुठीभित्रको धर्म संस्कृतिलाई नष्ट गरी धार्मिक संस्कार नष्ट नगर्न चेतावनी दिएका छन् ।

थाइल्याण्डमा रहेका नेपालीहरूसँगको भेटमा पूर्वराजाले गुठीका विषयमा गम्भीर भएर सोच्न सरकारलाई आग्रह गरेका छन् । गुठीका विषयमा गहिरो चिन्ता राख्दै उनले धर्म संस्कृतिमाथि प्रहार भएको बताएका छन् ।

पूर्वराजाले मुलुकको संस्कृति, परम्परा, धर्म, रीति रिवाज र तिनीहरूसँग जोडिएका संस्थाहरू सामाजिक सौहार्दता र राष्ट्रिय एकताका दरिलो बनाउने आधार भएको भन्दै गुठी विधेयक सच्याउन आग्रह गरेका छन् । मुलुकको संस्कृति, परम्परा, धर्म, रीतिरिवाजमा खल्वल्याउने काम नगर्न कम्युनिस्ट सरकारलाई उनले आग्रह गरेका छन् । संवेदनशील विषयमा आवश्यक सुधार र परिमार्जन गर्दा राज्यले सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने बताए ।

केही दिनअघि सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले गुठी परम्परा सामन्तवादको अवशेष भएको बताएका थिए । मन्त्री बास्कोटालाई जवाफ दिँदै पूर्वराजाले संस्कारमाथिको प्रहार सह्य नहुने चेतावनी दिएका छन् । ८० भन्दा बढी गुठीहरूले संयुक्त सङ्घर्ष समिति गठन गरी विगत ६ दिनदेखि राजधानीमा विरोध प्रदर्शन गरिरहेका छन् ।