गुठी, मुठी र लात्तीले चर्कियो संसद - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

गुठी, मुठी र लात्तीले चर्कियो संसद



काठमाडौं: संसदमा विपक्षीमात्र नभइ सत्तापक्षका सांसदहरुले पनि विधेयकबारे बिरोध गरिरहेका छन्, आवाज उठाइरहेका छन् ।  संसदमा सांसदहरुले गुठी विधेयकको विरोध तथा सरोकारवाला पक्षसँग छलफल गरेर अगाडि बढाउन माग गर्दै आएका छन्।

सरकारले गुठियारको अधिकार समाप्त गर्दै प्रावधानसहित संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा काठमाडौं उपत्यकामा दैनिक आन्दोलन त भैरहेकै छ ।

गुठियारहरुले सडकमा आन्दोलन गरिरहेकाछन भने उता संसदमा विपक्षीमात्र नभइ सत्तापक्षका सांसदहरुले पनि सरकारको यो कदमको ब्यापक बिरोध गरिरहेका छन्।

आइतवार संसदको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठेर ध्यानाकर्षण गरायो।

त्यसपछि कांग्रेस सांसद लक्ष्मी परियारले जेठ २६ गते माइतीघर मण्डलामा भएको र्‍यालीमा सरकारले बर्बरतापूर्ण ढंगले दमन गरेको भन्दै ‘प्रहरीको त्यो किक’को स्मरण गराइन्।

उनले सरकारलाई शक्ति र बलको दम्भ नदेखाउन चेतावनी दिँदै भनिन् ‘दुई तिहाई छ भन्दैमा शक्तिको दम्भ देखाउन खोजेको हो भने सरकारले शक्ति छ भन्दैमा सिमेन्टको भित्तोमा मुठी ठोक्छ भने निको नहुने घाउ हुन्छ। क्यान्सर लागेर झर्छ। ख्याल गरोस,’ उनले भनिन्।

त्यसैगरी सांसद गगन थापाले संस्कृतिमाथि प्रतिवन्ध लगाउन खोजेपछि सडकमा उत्रेकालाई मुख थुन्न खोजेको आरोप लगाए।

गुठी नेपालको संस्कृति र सभ्यता भएको भन्दै त्यसलाई मास्ने कुरा कांग्रेसलाई स्विकार्य नहुने भन्दै प्रत्येक दिन सदनमा कुरा उठाइरहे पनि सरकारले ध्यान नदिएको उनले आरोप लगाइन्। सरकारले नजिकका मान्छेलाई जमिन बाँड्न सक्छौँ भनेर विधेयक ल्याएकोसमेत उनले आरोप लगाइन्।

बैठकमा बोल्दै सत्तारुढ दल ने क पाका सांसद विरोध खतिवडाले गुठी सम्बन्धी विधेयकको विषयमा भइरहेको आन्दोलनको समस्याको समाधान गर्न सभामुखले हस्तक्षेप गर्न माग गरे।

‘अहिले गुठी सम्बन्धी विधेयकमा ३६ को आँकडा छ। एकतातिर सरकार बुझ्नेले कुरा नबुझेपछि भन्दै गालामा हात लगाएर बसेको छ। अर्को तिर गुठियारहरु बुझ्नेले कुरा नबुझेपछि मसाल त बोक्नै पर्‍यो भन्दै आन्दोलनमा छन्,’ उनले भने, ‘नेपालको राजनीतिक परिवर्तनमा उपत्यकाले निर्णायक भूमिका खेलेको छ। त्यसमाथि यहाँको नेवार समुदायले महत्त्वपूर्ण भूमिका खेलेका छन्। यो स्थित कसरी भयो। माननीय सभामुखले दुबै पक्षलाई वार्तामा ल्याउन हस्तक्षेप कारी भूमिका खेल्न आग्रह गर्छु।’

संसदमा सत्ता पक्षकै बाबुराम भट्टराई पम्फा भुसाल, अग्नि सापकोटा, रामवीर मानन्धर लगायतका सांसदहरुले संसदमा गुठी विधेयक सच्चायनु पर्ने माग गर्दै आएका छन्।