इश्वर पोखरेलले भने : कुनै हालतमा गुठी विधेयक पारित हुन दिन्न - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

इश्वर पोखरेलले भने : कुनै हालतमा गुठी विधेयक पारित हुन दिन्न



काठमाडौं – कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेलले गुठी विधेयक पारित हुन नसक्ने बताएका छन् । उनले आमनागरिकको सामाजिक र सांस्कृतिक भावना विपरीत देखिए गुठी विधेयक कुनै हालतमा पारित हुन नसक्ने बताएका हुन् ।

काठमाडौं महानगरपालिका वडा नं. ४ ले आयोजना गरेको प्रथम कामनपा–४ वडास्तरीय खुला दौड प्रतियोगिताको समापन समारोहमा कार्यबाहक प्रधानमन्त्री पोखरेलले भने, ‘जननिर्वाचित प्रतिनिधि साथीहरुले जहिले पनि जनताको भावनालाई बुझेर काम गर्नुपर्छ । जनताको भावना विपरीत काम गरियो भने जतिसुकै ठूलो पार्टी वा नेताले गरे पनि जनताले विरोध गर्छन् । अहिले पार्टीका केही कामप्रति पनि जनताले आलोचना गरेका छन् ।’

उनले गुठीसम्बन्धी ऐन छलफलमा मात्रै ल्याइएको बताए । ‘अहिले कानुन नै बनिसकेको छैन, छलफलमात्रै भएको हो,’ उनले भने, ‘जनताको धार्मिक, सांस्कृतिक, सामाजिक भावना र एकताको कुुरालाई कहिले पनि नोक्सान गर्न हुँदैन । यी चिजलाई सम्मान गर्नुपर्छ । जनताले एक भएर सयौं वर्षअघि सुरु गरेको चिजलाई मास्न हुँदैन ।’

जनताको हित र भावना विपरीत कुनै पनि काम हुन नदिने प्रतिबद्धता पनि उनले जनाए । ‘गुठी ऐनलाई लिएर अहिले धेरैले बर्बादै भयो, उत्पातै भयो भनिरहेका छन्, त्यतिसम्म पनि भएको छैन,’ उनले भने, ‘हामी जनताको हित विपरीत कुनै पनि निर्णय हुन दिँदैनौं ।’

धर्म निरपेक्ष राज्यमा धार्मिक, सांस्कृतिक कार्यक्रममा नियन्त्रण गर्ने गरी आएको भन्दै प्रस्तावित गुठी विधेयकको विरोध भइरहेका बेला सत्तारुढ नेकपाका सचिवालय सदस्य एवं रक्षामन्त्रीसमेत रहेका पोखरेलले विधेयकप्रति घुमाउरो पारामा असन्तुष्टि जनाएका हुन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश सांसद नारायण सिलवालले जनसहभागितासहितको विकास मुलुकले खोजेको बताए । भौतिक संरचनासँगै आमनागरिकको शान्ति, सुरक्षा, जागरुकता र गुणस्तरीय जीवन सुनिश्चित भएपछि मात्रै मुलुक समृद्ध हुने उनले बताए । ‘हामी इतिहासको अत्यन्तै महत्वपूर्ण घडीमा छौं,’ उनले भने, ‘एकातिर हामीसँग चुनौतीका चाङ छन्, अर्कोतिर आमनागरिकले हामीप्रति ठूलो भरोसा राखेका छन्, त्यसलाई कुनै हालतमा पूरा गर्नुपर्ने दायित्व छ ।’

वडा अध्यक्ष मोहन बिष्टले भूमाफियाबाट सार्वजनिक जग्गा मुक्त गर्न आफू लागि परेको बताए । ‘भूमाफिया निकै शक्तिशाली हुँदा रहेछन्,’ उनले भने, ‘अनेक दबाबका बीच मेरो वडामा अतिक्रमित जग्गालाई सार्वजनिकीकरण गरिरहेको छु ।’ वडामा विकास निर्माणको ८० प्रतिशत काम सकिएको उनले बताए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ चण्डोलस्थित विशाल मिलन केन्द्रद्वारा आयोजित दौड प्रतियोगितामा नवीन कार्की प्रथम, आलोक थापा दोस्रो र नवराज बुढामगर तेस्रो भए । प्रतियोगितामा वडाका ४ सय ७ जनाले सहभागिता जनाएका थिए ।