गुरुङ समूदायले मानाए दिल्लीमा तमु ल्होसार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गुरुङ समूदायले मानाए दिल्लीमा तमु ल्होसार



नयाँ दिल्ली /ईन्द्र कमल जैरु

भारतको राजधानी दिल्लीमा संगठित गुरुङ समूदायले भव्य रुपमा फो-ल्होछारा अर्थात तमु ल्होसार पर्व मनाएका छन। दिल्ली केन्टक्षेत्रमा गुरुङ समूदायले आइतबार शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए, मानिसको चिनारी हराउँछ भन्ने मान्यताका साथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम र नाचगान गरेर तमु ल्होसार मनाएको हो।

गुरुङ सेवा समितिको आयोजना भएको कार्यक्रममा समितिका अध्यक्ष डीबी गुरुङले अध्यक्षता गर्नु भएको थियो भने भीम गुरुङ प्रमुख अतिथि र नेपाली राजदूतावासका संस्कृति काउन्सलर होमप्रसाद लुर्इंटेल विशिष्ट अतिथीका रुपमा उपस्थित रहनु भएको थियो ।

समारोहमा कञ्चन गुरुङ र दिल्लीमा गुरुङ समाजको पूजापाठ गराउन नेपालबाट आउनु भएका लामा नविन गुरुङ पनि विशेष अतिथिका रुपमा उपस्थित रहनु भएको थियो । समारोहमा स्वागत मन्तव्य राख्दै समितिका उपाध्यक्ष गोपीराज गुरुङले ल्होसार पर्वको थालनी र महत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।

त्यसैगरि राजदूतावासका काउन्सलर होमप्रसाद लुर्इंटेलले संस्कृति बचाउन गुरुङ सेवा समितिले गरिरहेको काम महत्वपूर्ण भएको भन्दै नेपाल सरकार, नेपाली दूतावासका तर्फबाट सम्पूर्ण तमु समूदायलाई शुभकामना दिनुभयो । समितिका महासचहिव खुम गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रमको समापन गर्दै समितिका अध्यक्ष डीबी गुरुङले संस्कृतिको जगेर्ना गर्ने आफुहरुको प्रयास सँधै कायम रहने बताउनु भयो ।

समारोहमा उपस्थित भएका अतिथीहरुलाई समितिले मायाको चिनो समेत प्रदान गरेको थियो। कार्यक्रममा विभिन्न गुरुङ समूदायका किशोर किशोरीहरुले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए। गुरुङ समूदायले नयाँ वर्षको शुरुवातका रुपमा मनाउने ल्होसार पुष महिनाको १५ गते मनाइने गरेको भए पनि दिल्लीमा कामका शिलशिलामा रहेका गुरुङ समूदायले आइतबार विदाको दिन मनाएको हो।