माधव नेपालको आक्रोश: घर घेर्न गुण्डा पठाउनेले हामीलाई आममाफी दिन्छु भन्ने ? - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

माधव नेपालको आक्रोश: घर घेर्न गुण्डा पठाउनेले हामीलाई आममाफी दिन्छु भन्ने ?



काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई तर्साउन अध्यक्ष केपी शर्मा ओली पक्षले रातिको समयमा गुण्डा पठाएको आरोप लगाएका छन्। पुष्पलाल मित्रता केन्द्रले शुक्रबार ललितपुरमा गरेको प्रवचन कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन्।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका अवसरमा बोल्दै नेता नेपालले आफू विशेष धातुले बनेकाले कसैसँग नडराउने उल्लेख गरे। ‘माधव नेपालको घरको छेउमा मार मुङ्रेहरु २५ जना बसेका थिए। यसो हेरेँ उपारखुट्टी लगाएर बसेका देखेँ’, उनले भने, ‘कस्ता कस्ता कहाँ गए, यिनीहरु आएर माधव नेपाल तर्सिँदैन। म विशेष धातुले बनेको छु। म कुनै हालतमा डराउँदिनँ।’

उनले कम्युनिष्टहरु विशेष धातुले बनेका भएकाले कसैको धम्कीबाट नडराउने बताए। ‘म विशेष धातुले बनेको छु, कसैसँग डराउँदिन। वादशाहलाई घोडामा झारियो तर सुध्रिएनन्’, उनले ओलीप्रति लक्षित गर्दै भने, ‘अहंकार कस्तो हुँदोरहेछ भने जति धैर्य गर्दा पनि उही शैही र उही तरिका देखियो।’

साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेपालको कोटेश्वरस्थित निवास आसपासमा ओली पक्षका कार्यकर्ताले प्रदर्शन गरेका थिए। उनको विरोधमा ओली पक्षीय युवा संघले पुत्ला पनि जलाएको थियो।

यस्ता कदम नरोकिए एमाले एकता पनि अघि नबढ्ने निचोड नेपाल पक्षको बुधबारको स्थायी कमिटी बैठकले निकालेको थियो। तर नेता नेपालले ओली पक्षले गुण्डा नै लगाएर घर घेर्न पठाएको कुरा पहिलो पटक बताएका हुन्। उनी अहिले बालकुमारी नजिकै कोटेश्वरमा बस्दै आएका छन्।