गुल्मीमा मदिरा साँझ ९ बजे सम्म मात्र बेच्न पाईने - Himal Post Himal Post
  • २७ पुष २०८२, आईतवार
  •      Sun Jan 11 2026
Logo

गुल्मीमा मदिरा साँझ ९ बजे सम्म मात्र बेच्न पाईने



गुल्मी  : जिल्लाको मदाने गाउँपालिकाले मदिरा बिक्री वितरणमा कडाइ गरेको छ । गाउँ कार्यपालिकाको सम्पन्न बैठकले मदिरा बिक्री वितरणमा कडाइ गरेको हो । मदाने गाउँपालिकाभित्र बेलुका ६ बजेदेखि राती ९ बजेसम्म मात्र मदिरा बिक्री वितरण गर्न पाउने गरी निर्णय गरेको कार्यकारी अधिकृत सुरेश भण्डारीले जानकारी दिएका छन् ।

कार्यकारी भण्डारीका अनुसार पछिल्लो समय बिहानैदेखि रातीसम्म पनि मदिरा बिक्री वितरण गर्नेलगायत मानिसहरूले मदिरा सेवन गरेर होहल्ला गर्दै हिंड्ने प्रवृति बढिरहेकाले पालिकाले मदिरा निश्चित समयमा बिक्री वितरण गर्नका लागि निर्णय गरिएको बताए ।

मदिराले समाजमा विभिन्न प्रकारका अपराधिक क्रियाकलापदेखि समाजमा नकारात्मक प्रभाव परिरहेकाले आफूहरूले निर्णय नै गरेर मदिरा बिक्री वितरणमा कडाई गर्नुपरेको मदाने गाउँपालिका प्रमुख दानबहादुर खत्री केसीले बताए । समाजमा केटाकेटीहरूलाई पनि मदिरा बिक्री वितरण गर्ने चलन रहेछ प्रमुख दानबहादुरले भने– ‘हामीले गाउँ कार्यपालिकाको बैठक बोलाएर सबै सदस्यहरूको सल्लाह अनुसार मदिरा बिक्री वितरण गर्ने समय तालिका निर्माण गरेका छौँ, यसलाई कडाइका साथ लागु गर्छांै ।’
पालिकाभित्र अन्य समयमा बिक्री वितरण गर्ने र मदिरा सेवन गरेर होहल्ला गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गरिनेसमेत निर्णय भएको केसीले बताए ।

मदिरा नियन्त्रणलगायत अन्य विभिन्न अपराधिक र समाजमा नकारात्मक प्रभाव पार्ने कामहरूको नियन्त्रण गर्नका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहको प्रहरी सहितको समिति निर्माण गरिएको छ । पालिकाले स्थानीय सञ्चार माध्यमहरूबाट सार्वजनिक सूचना प्रसारण गरी मदिरा बिक्री वितरण गर्ने समय कार्तिक ६ गतेबाट लागू गरेको छ । कृषि, पर्यटन, उद्योग, स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, विद्युत्, लगायत स्थानीय उत्पादन र जनताहरूको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएर काम शुरु गरेको छ ।