गृहमन्त्रीलाई कमजोर बनाउने प्रधानमन्त्रीको रणनीति ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

गृहमन्त्रीलाई कमजोर बनाउने प्रधानमन्त्रीको रणनीति !



काठमाडौं । प्रधानमन्त्री ओली भारत भ्रमणमा रहेका बेला गृहमन्त्री बादलले माओवादीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई छलफलका लागि बोलाएका थिए । छलफलमा प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आलोचना गरिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

सम्बन्धित मन्त्रीसँगको सल्लाहबिना निर्णय गरिएको, त्यसमध्ये पनि राई एमालेका भित्रिया रहेको माओवादी मन्त्रीहरुको ठहर थियो ।

कुरा त्यतिमा सेलाएन । गृहमन्त्री थापा भोलिपल्ट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न निवासमा पुगे । निवासमा पुगेर थापाले यसअघि ओलीले गरेका निर्णयको फेहरिस्त दाहाललाई सुनाएको थापा निकट स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार थापालाई ओली आफू नै शक्तिशाली हुने गरी गृह मन्त्रायल मातहतमा रहने गरेको राष्ट्रिय अनुसन्धान विभागलाई सल्लाह नै नगरी आफू सरकारमा सहभागी हुनुभन्दा पहिलेको मिति राखेर निर्णय गराइएको भन्दै दाहालसँग गुनासो गरेका थिए ।

गृह मन्त्रालय मातहतमा रहेको राष्ट्रिय अनुसन्धान विभागलाई आफ्नो मातहतमा ल्याएर प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली  प्रधानमन्त्री बन्ने प्रयासमा रहेको स्रोतको दाबी छ ।

यो निर्णयप्रति थापाले आपत्ति जनाइसकेपछि प्रधानमन्त्रीले ‘मिलाउँला’ भन्दै टारेको गृह मन्त्री निकट स्रोतले जानकारी दियो ।

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत हुँदा गृहलाई गम्भीर सुरक्षा चुनौतिको सामना गर्नुपर्ने बाध्यता आउनसक्ने गृह मन्त्रालयका अधिकारी बताउँछन् । एक अधिकारी भन्छन्– “प्रधानमन्त्रीलाई नियमित सुरक्षा अवस्थाको ब्रिफिङ आवश्यक भएको भए छुट्टै संयन्त्र निर्माण गर्न सकिन्थ्यो तर उनले पूरै संगठन कब्जामा राख्न खोजे । सामान्य रुपमा कुनै सूचना भए वा घटनाको जानकारी गराउनुपर्ने भए गृहमन्त्रीले प्रधानमन्त्रीलाई जानकारी वा ब्रिफिङ गर्ने हो तर प्रधानमन्त्रीले गृह मन्त्रीलाई ब्रिफिङ गर्न मिल्दैन ।”

नियोजित रुपमा नै गृहमन्त्रीलाई कमजोर पार्न प्रधानमन्त्री लागिपरेको ती अधिकारीको आरोप छ । तर गृहमन्त्री थापाले भने यसबारेमा सार्वजनिक रुपमा मुख खोलेका छैनन् ।