आइफाबाट पछि हट्यो सरकार - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

आइफाबाट पछि हट्यो सरकार



काठमाडौँ –  

नेपालमा इन्टरनेशल इन्डियन फिल्म एकाडेमी (आइफा) अवार्ड समारोह नहुने भएको छ । सो अवार्ड समारोह रोक्न संसदको अन्तर्राष्ट्रिय सम्बन्धन समितिले निर्देशन दिएको थियो। अन्त्यमा सरकार आइफा अवार्ड नगर्ने निर्णयमा पुगेको छ ।

आइफा अवार्ड समारोह सञ्चालन गर्ने विषयमा ठूलो विवाद भएको थियो र त्यसमा सरकार मुछिएको थियो।  नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो वर्षको आइफा अवार्ड नेपालमा नहुने पुष्टि गरे।  उनले अवार्ड समारोह आयोजना गर्नका लागि आवश्यक प्रक्रिया अघि बढिनसकेकै अवस्थामा विवादले उग्र रूप लिएपछि नेपालको पनि अवस्था हेरेर पनि यो निर्णय लिइएको बताए । ‘यो अवार्ड नेपालमा गरेर पर्यटन वर्ष २०२० को पनि प्रचार गर्ने तयारीमा थियौँ’, उनले सञ्चारकर्मीहरूसँग भने, ‘देशमा चलेको विवादको अवस्थाको पृष्ठभूमिमा संसदीय समितिको समेत निर्देशनलाई पालना गर्दै यो वर्ष नेपालमा आइफा अवार्ड समारोह नगर्ने निचोडमा पुगेका हौँ। अर्को वर्षतिर पर्याप्त पूर्वाधार बनाएर यो समारोह गर्न सकिएला। यो समारोहमा ८० देखि सयजनासम्म हाइ प्रोफाइलका सेलिब्रिटीहरू नेपालमा आउँथे। हामीले उनीहरूलाई चितवन, पोखरासहितका स्थानमा घुमाएर प्रवर्द्धनको तयारीमा थियौँ, तर अब यो सायद हुँदैन।’

बुधबार दिउँसो पर्यटन मन्त्रालयमा छलफल भएपछि औपचारिक निर्णय गरिने जोशीले बताए । उनले भने, ‘यसबारेमा हामी पर्यटन मन्त्रालयमा छलफलका लागि जाँदैछौँ, त्यहाँ छलफलपछि आइफाबारे औपचारिक निर्णय सरकारबाट आउनेछ।’ आइफा आयोजक विजक्राफ्टले करिब ५० करोड खर्च नेपालले ब्यहोर्नुपर्ने आशयसहितको प्रस्ताव पठाए पनि त्यसमा सम्झौता नभएको जानकारी दिए। उनले भने, ‘उनीहरूले प्रस्ताव पठाएका हुन्, तर त्यसमा छलफल भएकै छैन, आइफाका आयोजकहरू नेपालमा आएकै छैनन्, कुरै अगाडि बढ्न पाएको छैन। हामी उनीहरूको प्रस्तावमा सहमत भएको भए हुन्थ्योकि, तर अब नहुने अवस्था भएको छ।’