जोशीको भ्रष्टाचार काण्ड: ४६ पटक पेशी तोकियो फैसला भएन - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

जोशीको भ्रष्टाचार काण्ड: ४६ पटक पेशी तोकियो फैसला भएन



काठमाडौं । सर्वोच्च अदालतमा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा ४६औं पेसी तोकेर पनि फैसला हुन सकेन । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा सो मुद्दामा फैसला रोक्न माग गर्दै कानुन व्यवसायीले माग गरेसँगै मुद्दाको पेसी सरेको हो ।

सात वर्षअघि विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा ठहरपछि सर्वोच्चमा पुनरावेदन भएको जोशीको भ्रष्टाचार मुद्दामा आइतबार जोशीका कानुन व्यवसायीले आय गणनामा यसअघि भएको व्याख्याविरुद्धको मुद्दा विचाराधीन रहेकाले सो मिसिल पनि साथै राख्न माग गरेपछि सुनुवाइ सरेको हो ।

भ्रष्टाचार मुद्दामा सर्वोच्चले निर्माण गरेको नजिरहरूको एकरूपता नभएको र आयल निगमका पूर्वप्रमुख युवराज शर्माको मुद्दा विचाराधीन रहेकाले यो मुद्दा सार्नुपर्ने माग पक्षका कानुन व्यवसायीले गरेका थिए ।

१२ कात्तिक २०७० मा तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्मा र न्यायाधीश भरतबहादुर कार्कीको इजलासले ‘झगडिया झिकाउने’ आदेश गर्दै जोशीको मुद्दाको सुनुवाइ सुरु गरेका थिए । लगत्तै ५ भदौ २०७१ मा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशीको इजलासले पुनः निर्णय झिकाउने आदेश ग¥यो । भ्रष्टाचार मुद्दामा विरलै हुने यस्तो आदेशपछि जोशीको मुद्दा चार वर्षसम्म सुनुवाइ नै हुन सकेन ।

फाइल मगाउन गरेको आदेश लामो समयसम्म अदालत नआएपछि अख्तियारसँग सर्वोच्चले लिखित जवाफ माग गरेको थियो । सर्वोच्चको आदेशपछि लामो समयपछि अख्तियारले फाइल बुझाएपछि उनको भ्रष्टाचार मुद्दामा सुनुवाइ भएको हो ।

उनको मुद्दा सर्वोच्च अदालतमा ८ फागुन २०६९ मा दर्ता भएको थियो । सातपटक पक्षले र तीनपटक विपक्षका कानुन व्यवसायीले सो मुद्दा सारेका हुन् । जोशीको मुद्दा ११ पटक हेर्न नमिल्ने इजलासमा पेसी तोकिएको थियो भने सातपटक हेर्न नभ्याइने हुँदै पेसी सरेको थियो । अहिलेसम्म ६४ जना न्यायाधीशको इजलासमा जोशीको मुद्दा पेसी परिसकेको छ भने ३३ संयुक्त इजलाशमा पेसी तोकिँदै सुनुवाइ टर्दै आएको थियो ।

अख्तियारले विशेष अदालतमा २८ माघ २०६० मा ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ पदीय दुरुपयोगबाट कमाएको अभियोगसहित १३ वर्ष कैद सजायसहित जरिवाना मागेको थियो । सो मुद्दामा ३० कात्तिक २०६३ मा तत्कालीन विशेष अदालतका अध्यक्ष भूपध्वज अधिकारी, कमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले अख्तियारले म्याद गुजारेर आएको भन्दै मुद्दाको तथ्यमा नपुगी जोशीलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको थियो ।

अख्तियार विशेष अदालतको आदेशको विरुद्ध सर्वोच्चमा रिट दर्ता भयो । सर्वोच्चले भ्रष्टाचार मुद्दामा हदम्याद नलाग्ने आदेश भएपछि विशेष आदालतमा जोशीविरुद्ध मुद्दा चल्यो । विशेष अदालतले १० साउन २०६६ मा विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासले जोशीलाई भ्रष्टाचारी ठहर ग¥यो ।

विशेषले जोशीसँग २ करोड १६ लाख १४ हजार ३७६ रुपियाँ ४१ पैसाको मात्रै स्रोत नपुगेको भन्दै एक वर्ष ६ महिना मात्रै कैद सजाय सुनायो । जति रकमको स्रोत खुलेको छैन, त्यति रकम जरिवाना तिर्नुपर्ने साथै सम्पत्ति पनि जफत हुने भनिएको छ । राजधानीमा खबर छ