यस्तो छ 'गोरे'को बयान ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यस्तो छ ‘गोरे’को बयान !



काठमाण्डौ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेपछि गरिएको सामान्य सोधपुछबाट धेरै तथ्य फेला परेको छानबिन समितिले बताएको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिका संयोजक ईश्वरीराज पौडेलले पक्राउपछि गोरेले सुन तस्कर काण्डबारे अन्य विवरण जानकारी दिएको बताए ।

“गोरेसँग सोधपुछ गर्ने क्रममा अन्य सुचनाहरु पनि प्राप्त भएका छन् । अहिलेसम्म पक्राउ गरिएकाबाहेक अरु व्यक्तिका बारेमा पनि अब गहन अनुसन्धान गर्छौँ ।” पौडेलले भने । “अन्य तथ्य र प्रमाणहरु पनि प्राप्त भएको छ । ति विषयमा पनि गहिराइका साथ अनुसन्धान गर्छौँ ।”

अनुसन्धान निकै जटिल र गम्भीर प्रकृतिको भएको पौडेलको भनाई छ ।

सार्वजनिक कार्यक्रममा गृह मन्त्रालयका सहसचिवसमेत रहेका पौडेलले सुन तस्कर काण्ड जेरी जस्तै जेलिएकाले गहन अनुसन्धान गर्नुपर्ने बताए ।

समितिको बयानमा गोरले आफु सुन तस्करीमा सामेल भएको स्विकार गरेको समितिका एक सदस्यले खुलासा गरेका छन् ।

गोरेले आफुलाई सुन तस्करीको नाइके नभएर भरिया र एजेन्ट भएको मात्र खुलाएका छन् ।

समितिका एक सदस्यले भने, “गोरेले आफुलाई भरिया मात्र भनिरहेका छन् । सुन ल्याएर सम्वन्धित निकायमा र्पुयाएपछि केही कमिसन खाने गरेको उनले हामीसँग बताएका थिए ।”

गोरेले बयानमा ३३ किलो सुन भुजुङ गुरुङको समुहले लुटेकोसमेत बताएका छन् । उनले सुनमा लगानी एम के अग्रवालको समेत रहेको बताएका छन् । ३३ किलो सुन हराएपछि अग्रवालले आफुलाई यातना समेत दिएको खुलाएका थिए । गोरेले सुन तस्करीमा अरु प्रहरी र व्यापारीहरुको नाम समेत खुलाएको स्रोतले जानकारी दिएको छ ।

दुवई हुँदै तस्करी गरेर ल्याएको सुन नेपाल तथा धेरै जसो भारतमा लगेर बेच्ने गरेको उनले बयानमा बताएका छन् । छानविन समितिले ६३ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्धा चलाइसकेको छ ।

सुन तस्कर र सनम शाक्य हत्याको मुद्दा संगठित अपराध ऐनअन्तरगत आकर्षित हुने पौडेलको भनाई छ ।