सनमकी गर्लफ्रेडको बयानः गोरेले सनमलाई तेरो गल्डफ्रेन्डलाई सकाइ दिउँ भनेपछि... - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

सनमकी गर्लफ्रेडको बयानः गोरेले सनमलाई तेरो गल्डफ्रेन्डलाई सकाइ दिउँ भनेपछि…



मेरो गत २८ साउनमा पहिलो पटक दबारमार्गस्थित आइ क्लबमा सनम शाक्यसँग चिनजान भएको थियो । त्यहाँ म मोडलिङ गर्न गएको थिएँ । उनीसँग चिजान हुँदा सनम शाक्यका साथी मोहन लगायत ४–५ जना थिए । त्यो दिन उसले मेरो फोन नम्बर मागेर लगेका थियो । त्यस समयपछि उनी र मेरो फोन तथा म्यासेजमा कुरा हुन थाल्यो ।

हामी नजिक हुँदै गयौं, मैले तपाईको घर कहाँ हो भनी सोध्दा मोरङको उर्लाबारी हो भनेको थियो । हाल काठमाण्डुको हाडीगाउँमा डेरा गरी बस्छु भन्नु हुन्थ्यो । उसले मेरो कोठा जाउँ भनेकाले म हाडीगाउँ पनि गएको थिए, सनम साथीहरुसँग बस्दा रहेछन् ।

पछि थाहा पाएँ, गोरे भन्ने चुडामणि उप्रेतीले उनीसँग काम गर्ने मानिसहरुलाई राख्नका लागि उक्त घरको कोठा भाडामा लिएका रहेछन् । त्यस कोठामा जाँदा कृष्ण भन्ने नरेन्द्र कार्की, मोहन काफ्ले, भविन राई, रुस्तम मिया समेतलाई देखेकी हुँ । सनमसँग घुम्न जाने क्रममा दशैंको २ दिन अगाडी म, सनम शाक्य, कृष्ण भन्ने नरेन्द्र कार्की र कृष्ण बस्नेत गइ २ दिन जति धरानमा बस्यौं, घुम्ने क्रममा म सनमको गाउँ उर्लाबारीसम्म पनि गएको थिएँ ।

तर, सनमको घरमा गइन, दशैंको टिकाको दिन मेरो आमाको जन्मदिन भएकोले म प्लेनबाट काठमाण्डु आए । काठमाण्डु आएपछि ठमेलको होटल बडीमा आमाको जन्मदिन मनायौं । त्यो पार्टीमा मेरो साथीहरु रोशन श्रेष्ठ, आकाश लामा, दिदीको साथी रमेश श्रेष्ठ लगायत अफिस इस्टाफ तथा आमाका साथीहरु समेत थिए ।

त्यसपछि पार्टी सकेर हामीहरु सबै ठमेलको फेसेस लन्ज एण्ड बार (क्लब) मा गयौं । त्यहाँ जुस खाएर बसी रहेको समयमा मेरो मोबाइलमा सनमले भिडियो कल गरेको थियो । र, म साथीहरुबाट छुटेर तल झरेर सनमसँग कुरा गर्न थालेँ । त्यो क्रममा पार्टीमा निम्त्याइएका साथीहरु मध्ये रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा बीचमा छुट्टै कुराकानी भएको रहेछ ।

मेरो फोनको वाल पेपरमा मेरो र सनमको फोटो देखेपछि रमेश श्रेष्ठले यो मान्छेलाई चिन्छु भनेर भनेका थिए । अनि, मैले कसरी सनमलाई चिन्नु भयो भनि सोध्दा रमेशले म आफैं पनि सनमहरुसँग काम गरेको तर अहिले छाडेको कुरा भनेका हुन् ।

रमेशले मलाई सनमको बारेमा धेरै थाहा नभएका कुराहरु भन्यो । त्यसपछि मैले सनमको कामको बारेमा थाहा पाएकी हुँ ।

त्यसपछि मैले सनमलाई मन चोर्ने उद्देश्यले सोध्दा सनमले हो, म सुन तस्करीको कारोबार गर्छु भनेको थियो । सनमले तँलाई कसरी थाहा भयो भनि मलाई सोध्दा मैले रमेशले भनेको भनेकी हुँ ।

रमेशको नाम लिँदा मैले मेरो मोबाइलमा भएको फोटो देखाउँदा उसले यो टेकराज मल्लको सालो हो भनेका थिए । फेसेज लन्चमा ती तीन जनाको बीचमा कुरा भएको समयसम्म म अन्जानमा थिएँ, तर, रमेश श्रेष्ठलाई मेरो र सनमको सम्बन्धको बारेमा सबै कुरा रहेछ ।

रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा मिलेर सनमहरुलाई लुट्ने योजना बनाएका रहेछन् । उनीहरुको यो कुरा हुनुभन्दा अगाडी रोशन र आकाशसँग मेरो दरबारमार्गमा बालकृष्ण सञ्जेलसँग भेट भएको थियो ।

त्यहाँ कुरा हुँदा सञ्जेल इकाउन्टर इस्पेसलिस्ट हो भनि मलाई रोशन श्रेष्ठले दरबारमार्गमा भएको बेक्स ऐन्ड केक्स पसलमा चिनजान गरायो ।

उनीहरुको प्लान सफल हुनुभन्दा अगाडी सञ्जेलले यो कुराहरु गोरेसँग पु¥याएको थियो । त्योसँगै मेरो केही तस्विरहरु पनि सञ्जेलमार्फत सनमको गर्लफ्रेन्ड भनेर गोरे भन्ने चुडामणि उप्रेतीलाई तस्विरहरु पठाएको कुरा मलाई सनमले भनेका थिए ।

त्यसपछि गोरेले सनमलाई तेरो गल्डफ्रेन्डलाई सकाइ दिउँ भनेर भनेको कुरा सनमले मलाई भनेको थियो । र, सनमले मलाई अलि होस गरेर हिड्नु भनेका थिए ।

सो घटनापछि हाडीगाउँस्थित सनम र अन्य साथीहरु बस्ने घरबाट सबै सामानहरु निकाली गोरे समेतले सो घर छाडेका थिए, सनम र म समेत दशैंमा धरान घुम्न गएको समय देखिनै सनम काठमाण्डु आएका थिएनन् ।

प्रायः म नै उसलाई भेट्न प्लेनबाटै बिराटनगर भेट्न जाने गर्दथे । सनम पूर्व रहेको बेला मैले उसलाई यो काम नगर्नु भनि सम्झाउने गरेको थिएँ । तर, उसले मलाई यो काम छाड्न केही समय लाग्छ तत्काल छाड्न मिल्दैन भन्ने गरेका थिए ।

उसको दाइ भनिएका गोरे भन्ने चुडामणि उप्रेतीकै कुरा मान्ने गरेका थिए, मैले भनेको नमानेकोले मेरो र सनमको विवाद पनि भएको थियो । फेरि केही समय पछि सनम विवाहित हो भनि मैले थाहा पाएपछि मैले सनमसँग कुनै सम्पर्क गरेको थिइन । उसले नै मलाई सम्पर्क गर्न खोज्थ्यो । तर, उसको फोन पनि उठाउँदिन थिएँ । तर, पछि मेरो र सनमको कुराकानी भयो ।

केही समयपछि सनम भारतबाट दुबई गएको कुरा मलाई सनमले भनेका थिए । त्यसपछि सनम क्रिस्मस डेको दिन डिसेम्बर २५ तारिक नेपाल आएका थिए । त्यो दिन मलाई भविन राई लिन आएकोले म र भविन सनमलाई लिन एयरपोर्ट गएका थियौँ ।

हामी बीच भेटघाट भइ कुराकानी पश्चात सनम भोलिपल्ट बिराटनगर प्लेनमा गएका थिए, ऊ बिराटनगर गएको भएता पनि सनमसँग मेरो कुराकानी भइरहन थाल्यो । यस्तैमा सनम जनवरी २३, २०१८ मा बुद्ध एयरबाट बेलुकी ५ः३५ मा टिकट नं.७०५०३९४ बाट काठमाण्डु आएको थियो ।

म उसलाई लिन एयरपोर्ट गएकी थिएँ, त्यसपछि हामी बागबजार आएर होटलमा बस्यौं, त्यो पटक सनम काठमाण्डु आएको कुरा कसैलाई थाहा थिएन । सोही राती अन्दाजी १०–११ बजेको बीचमा सनमको मोबाइलमा फोन आएको थियो । सामान लुटियो भनी गोरे भन्ने चुडामणि उप्रेतीले भनेका थिए ।

त्यसपछी सनमलाई मोहनले फोन गरेकाले सनमले म काठमाण्डुमा छु भनेका थिए । त्यसपछि मोहनलाई मात्र सनम काठमाण्डु आएको कुरा त्यस समयमा थाहा भएको थियो । सोको भोलिपल्ट बिहान म कलेज गएँ । सनम मोहनलाई भेट्न गएका थिए ।