चुनाव हार्ने डरले निदाउनै छोडे गोकुल बास्कोटा - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

चुनाव हार्ने डरले निदाउनै छोडे गोकुल बास्कोटा



आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनतर्फ प्रतिनिधिसभा उम्मेदवार शिव प्रसाद हुमागाईँले अघिल्लो पटक निर्वाचित संघीय सांसद विभिन्न काण्डमा मुछिएको भन्दै प्रदेशको बजेटमा भएका विकासका कामलाई संघको प्रचार गरेर भ्रम फैलाइएको बताएका छन् ।

मंगलबार बिहान बाँस्कोटाको वडा मण्डनदेउपुर नगरपालिका वडा नं ४ (साविक नयाँगाउँ देउपुर) मा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विकासवादी नारा लगाउँदै आएका नेताको घरमा मैले पोल पठाएर बत्ती बालिदिएको हुँ,’ उनले भने, ‘अहिले प्रदेश सरकार र सांसदबाट भएको काम समेत आफूले गरेको भन्दै भ्रम छर्ने काम भइरहेको छ ।’ आफू निर्वाचित भएपछि जनताको घरदैलोमा विकास निर्माण अघि बढाउने हुमागाईँले प्रतिबद्धता व्यक्त गरेका छन् ।

चुनाव हार्ने डरले गोकुल बास्कोटा निदाउन छोडेको पनि हुमागाईँले बताए । ‘विकासको कामले आफूलाई निन्द्रा नपरेको बताउन थाल्नुभएछ,’ हुमागाईँले भने, ‘उहाँ विकास निर्माणका कुराले हैन, चुनाव हार्ने डरले निदाउन छाड्नुभएको हो, बर्बराउन थाल्नुभएको हो ।

त्यस्तै सत्ता गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार कञ्चनचन्द्र बादेले आफू भ्रष्टाचारका कुनै पनि काण्डमा नमुछिने भन्दै जनतालाई आश्वस्त पारे ।

उनले आफ्नो अघिल्लो कार्यकालमा संविधान र विकास दिएको भन्दै यो पटक निर्वाचित गराउँदा थप काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘बनेपालीको ज्वाई’ भएकोले भोट आउने विपक्षीले भ्रम छरेको भन्दै प्रजातन्त्रवादीको किल्ला बनेपाले संविधान मास्नेलाई भोट नदिने प्रष्ट पारे ।

चुनावी अभियानमा नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य कृष्णप्रसाद सापकोटा, नेपाली कांग्रेसका नेता अच्युत पौडेल, प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार माओवादी केन्द्रका मिना तामाङ, प्रदेश सभा सदस्यका समानुपातिक उम्मेदवार नेपाली कांग्रेसका सुरकृष्ण वैद्य र नेकपा एकीकृत समाजवादीका दिलकुमार तामाङका साथै गठबन्धनका स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।