मन्त्री बास्कोटा भन्छन् - विषादी परीक्षण थप तयारीपछि सुरु गरिने - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

मन्त्री बास्कोटा भन्छन् – विषादी परीक्षण थप तयारीपछि सुरु गरिने



काठमाडौँ –

भारतको दबाबमा भारतसहित अन्य मुलुकबाट आयात गरिने फलफूल र तरकारीमा विषादी परीक्षण रोकिएको समाचार आएका बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर भएकाले भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ देशको हितमा हुने गरी कार्यान्वयन गरिने बताएका छन् ।

आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूले जिज्ञासा राख्दा मन्त्री बाँस्कोटाले त्यसका लागि लागि नेपालको प्राविधिक क्षमता र देशभित्रको उत्पादन क्षमता वृद्धि गर्नेतर्फ लाग्ने जनाउँदै आफूहरू बाह्य पक्षबाट प्रभावित नभई देश हितको पक्षमा गम्भीर हुने प्रष्ट गरे ।

उनले भने, ‘सीमापार व्यवसायमा दुवै देशको हित र चासोका कुराहरू हुनसक्छन्, पत्रहरू आदानप्रदान हुनसक्छन्, हाम्रो पनि चासो छ, जनस्वास्थ्यको विषय व्यापार मात्र होइन दुवै देशका नागरिकको स्वस्थ खाना पाउनुपर्ने अधिकारको विषय हो, हामी क्रमशः नेपाललाई अर्ग्यानिक राष्ट्र बनाउने भनिरहेका छौँ, हाम्रो उत्पादन क्षमता बढाउनु मूल प्रश्न हो ।’

सो बैठकमा विभिन्न विषयमा छलफल भए पनि महत्त्वपूर्ण निर्णय केही नभएको र भएका निर्णय नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुने जानकारी दिए । मन्त्रिमण्डल हेरफेरका बारेमा सोधिएको प्रश्नमा उनको ठाडो जबाफ थियो– ‘यो प्रधानमन्त्रीको नितान्त विशेषाधिकार हो ।’