आइफालाई ४४ करोड मात्र दिएर पुग्दैन - मन्त्री बास्कोटा - Himal Post Himal Post
  • २४ मंसिर २०८२, मंगलवार
  •      Tue Dec 9 2025
Logo

आइफालाई ४४ करोड मात्र दिएर पुग्दैन – मन्त्री बास्कोटा



काठमाडौँ –

नेपालमा हुने भनिएको आइफा अवार्डमा सरकारले घाटाको ब्यापार नगर्ने सञ्चारमन्त्री गोकुल बास्कोटाले बताएका छन्।

मन्त्री बास्कोटाले संसदको विकास समितिको बैठकमा अहिलेसम्म अवार्ड समारोह आयोजना गर्न सैद्धान्तिक सहमति मात्र दिइएको र बाँकी विषय छलफलकै क्रममा रहेको उनले बताए।

सो कार्यक्रमका लागि सरकारले ४४ करोड दिन लागेको विषयमा उनले भने, ‘एउटा टेन्ट नै उनीहरूले ५६ करोडको राख्दैछन्। यदि ४४ करोड नै दिइहाल्यो पनि पनि पुग्दैन।’ विश्व चलचित्रको दोस्रो ठूलो उद्योग बलिउडका मानिसहरू आउँदा सुरक्षा लगायतका विषयलाई सम्बोधन गर्नु स्वाभाविक भएको उनले बताए। यसैक्रममा उनले भने, ‘त्यसैले यो एउटा इभेन्ट हो, जुन नेपालमा भरहेको छ भनेर विश्वभरका ५०/६० करोड मान्छेले हेरे भने हामीप्रतिको जिज्ञाशा बढ्न सक्छ।’

मन्त्री बास्कोटाले आइफाको विज्ञापन लगायतको विषय अझै टुङ्गिन बाँकी रहेको बताए। उनले भने, ‘यसमा म स्पष्ट भन्न चाहन्छु, नेपाल सरकारले घाटाको नगर्ने, नाफाको ब्यापार गर्ने हो।  यसको विज्ञापन कति आउँछ भन्ने टोटल सम्झौता भएको छैन। त्यसमा हाम्रो आर्थिक, सांस्कृतिक हितलाई हेर्छौं।’

नेपालमा अन्तराष्ट्रिय अवार्ड समारोहहरू आयोजना गर्दै अर्बौ खर्च गर्दा पनि नहुने ब्रान्डिङ पाइने उनले बताए।

उनले भने, ‘हलिउड नै यहाँ आउँछु भन्यो भने के हुन्छ ? अचम्म हुन्छ। ओस्कार अवार्ड नेपालमा गर्ने, खुम्बुबाट गर्ने भन्यो भने दुई/चार अर्ब नै खर्च भएछ पनि भने पैसामा जोख्‍ने विषय हुँदैन। १० औँ खर्बको ब्राण्डिङ गर्छ।’