श्रमिक र म्यानपावरबीच भेटै नहुने गोकर्णको यस्तो थियो तयारी, अब कार्यान्वयनमा - Himal Post Himal Post
  • ३ आश्विन २०८१, बिहीबार
  •      Thu Sep 19 2024
Logo

श्रमिक र म्यानपावरबीच भेटै नहुने गोकर्णको यस्तो थियो तयारी, अब कार्यान्वयनमा



काठमाडौं । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच महिनादेखि तयारी गरेको सेवा सुरु हुने भएको छ । श्रमिकले म्यानपावर संचालक र कम्पनीलाई भेट्नै नपर्नेगरी काम लिने वातावरण बनाउन विष्टको अगुवाईमा तयार भएको ई-टोकन र म्यासेजिङ सेवा १५ मंसिरबाट विभागले सुरु गर्न लागेको हो।

वैदेशिक रोजगार विभागले जनाएअनुसार ई-टोकन र म्यासेजिङ सेवाले वैदेशिक रोजगारीलाई श्रमिकको हकमा निकै सहयोगी बन्नेछ । ई-टोकन अर्थात् विद्युतीय पालो प्रणालीबाट श्रम स्वीकृतिका लागि अनलाइन फाराम पेश गर्ने कामदारले आफ्नो पालो कहिले आउँछ भन्ने थाहा पाउनेछन् भने म्यासेजिङ सेवाले श्रम स्वीकृतिको जानकारी मोबाइल म्यासेजमा आउनेछ । कुनै कारणवस श्रम स्वीकृतिको प्रक्रिया अस्वीकृत हुने भएमा वा थप कागजात पेश गर्नु परेमा मोबाइलमा म्यासेज प्राप्त हुनेछ । फाराम बुझाइसकेपछि फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्वीकृतिको स्टिकर जानेछ ।

ई-स्टिकर लागु गरेपश्चात तिब्र तयारी गरिएको यो प्रणालीले वैदेशिक रोजगारको क्षेत्रमा छुट्टै आयाम ल्याउने विभागले जनाएको छ । कामदार छनोट प्रणालीलाई पारदर्शी बनाउन अनलाइन प्रणालीसमेत तयार भएर लागू गर्ने अवस्थामा रहेको विभागले बताएको छ ।

कामदारले फाराम भर्दा आफ्नो मोबाइल नम्बर सही छ/छैन भनेर तीनपटक रुजू गरेपछि मात्र अनलाइन फाराम ‘सबमिट’ गर्न विभागले अनुरोध गरेको छ ।

विद्युतीय भुक्तानीको लागि पनि लामो समयदेखि विभागले प्राविधिक तयारी गरिरहेको महानिर्देशक भुसालले बताए । सेवा प्रदायकसँग सम्झौता गर्न छलफल चलिरहेको उनको भनाइ छ । यो प्रणाली लागू भइसकेपछि बीमा र कल्याणकारी कोषको पैसा तिर्न बैंकमा जानुपर्ने वा विचौलियाको सहयोग माग्नुपर्ने अवस्था अन्त्य हुने विभागको दावी छ ।

विभागका महानिर्देशक भीष्मकुमार भुसालले मंसिरभरिमा सूचना प्रविधिमार्फत सेवाग्राहीहरुलाई दिइने सेवा स्वचालित र कष्ट निवारक बनाइने बताएका छन् । यो सबै काम गर्न विगत ५ महिनादेखि पूर्वमन्त्री विष्टको अगुवाईमा लगातार मिहिनेत गर्नुपरेको उनको भनाइ छ ।