एमालेका प्रभावशाली नेताले छोडे गोकर्णको साथ, झाँक्रीलाई मत दिन अपील - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

एमालेका प्रभावशाली नेताले छोडे गोकर्णको साथ, झाँक्रीलाई मत दिन अपील



काठमाडौं- देशभर चर्चाको केन्द्र बनेको गुल्मीको चुनावी माहोल झन् रोचक बनिरहेको छ ।

गुल्मी–२ मा नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोकर्ण विष्टलाई र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच हुने प्रतिस्पर्धा निर्वाचनको मुखमा झन् रोचक बनिरहेको छ ।

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा गुल्मीका प्रभावशाली नेता शेषकान्त गौतमले गोकर्णको साथ छोडेर रामकुमारीको क्याम्पमा पुगेपछि विष्टलाई ठूलो झड्का लागेको आँकलन गरिएको छ ।

निर्वाचन नजिकिएको बेला गोकर्णको साथ छोडेका शेषकान्तले एमालेलाई मत नदिन भन्दै विज्ञप्ति नै जारी गरेका छन्। सत्तारुढ गठबन्धनका उम्मेदवार झाँक्रीलाई समर्थन गर्ने शेषकान्तले घाेषणा गरेका छन् ।

उनले एमालेका सचिव गोकर्ण नैतिक रुपमा पतन भैसकेको भन्दै निर्वाचनमा उनलाई समर्थन र सहयोग गर्न नसकिने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेकपा विभाजनका क्रममा माधवकुमार नेपाललाई उचालेर आफू पछि हटेपछि जिल्लामा आएर आत्मआलोचना समेत नगरेका गोकर्णलाई समर्थन र सहयोग गर्न नसकिने उनको विज्ञप्तिमा उल्लेख छ ।

फरक पार्टीका उम्मेदवार झाँक्रीलाई समर्थन र सहयोग गर्ने घोषणा गरेका उनले पार्टी परित्याग भने नगरेको उल्लेख गरेका छन् । रामकुमारीलाई सहयोग गरेकै कारण पार्टीले कारबाही गरे भोग्न तयार रहेको उनले बताएका छन् ।

गोकर्णको विपक्षमा उभिएका शेषकान्तले गुल्मेली चेली भन्दै रामकुमारीलाई मतदान गर्न समेत अपिल समेत गरेका छन् ।

उनले भनेका छन्– ‘कुनै राजनीतिक परिवारका कारण अगाडि नबढेकी र गुल्मेली गहना चेलीलाई समर्थन गरेर विजयी गराई पठाउन सम्पूर्ण गुल्मेलीहरूलाई आग्रह गर्दछु ।’

जिल्लाका प्रभावशाली नेता नै विपक्षमा उभिएपछि गोकर्ण झनै अप्ठ्यारोमा परेको चर्चा गुल्मीमा छ ।