जब गोकर्ण विष्ट बोले बैठकको माहोल नै स्तब्ध बन्यो - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

जब गोकर्ण विष्ट बोले बैठकको माहोल नै स्तब्ध बन्यो



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा नेतागरू बोल्ने क्रम जारी छ। बुधबार बोल्ने क्रममा पूर्वमन्त्री गोकर्ण विष्टले पार्टी र सरकारको नेतृत्वप्रति देखिएका असन्तुष्टि र अन्योलबारे बोलेका थिए

पूर्व श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री रहेका विष्टले मन्त्रीबाट हटाइएको प्रति खरो टिप्पणी गरेका छन् ।

बैठकमा बुधबार बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यसम्पादन मूल्याङ्कनमै प्रश्न उठाएका थिए । मन्त्रीबाट हटाइँदा आफूले अपमानित महसुस गरेको र हटाइने विधि पनि स्पष्ट नभएको बताएका थिए ।

“राजीनामा मागेको भएँ खुरुक्क दिन्थेँ तर अपमानपूर्व हटाइयो,” उनले बैठकमा भनेको कुरा एक स्थायी कमिटी सदस्यले उद्धृत गरे ।

विष्टले राजीनामा माग नगरि हटाइँदा ‘अयोग्य’को सन्देश गएको समेत बताएका थिए । उनले कार्य सम्पादन मूल्याङ्कन पनि पारदर्शी नभएको भन्दै असन्तोष प्रकट गरेका थिए ।

‘सरकार र पार्टी नेतृत्वले कामको बारेमा मूल्यांकन गर्ने विधि के हो?’ विष्टको भनाइलाई उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘सरकार पुनर्गठन गर्ने समयमा आत्मसम्मानमा चोट पुर्याउने काम भएको छ।’

मंसिर पहिलो साता भएको मन्त्रिपरिषद् पुनर्गठनमा श्रम मन्त्री रहेका विष्टलाई पदबाट हटाइएको थियो।

उनले पार्टीका निर्णयहरु संस्थागत हुन नसकेको, गुटबन्दी बढेको, कामकाे उचित मूल्यांकन हुन नसकेको लगायत विषयलाई बैठकमा उठाएका थिए। बैठकमा विष्टको प्रश्न थियो ‘गुटबन्दी अन्त्य गर्ने, कामको मूल्यांकन गर्ने र सुधार गर्ने भन्ने विषय लेख्नका लागि मात्रै हो कि त्यसलाई कार्यान्वयन पनि गर्ने हो?’

बैठकमा विष्टले समाजवादतर्फ उन्मुख छ भन्ने पार्टी दलालका चंगुलमा पर्दै गरेको बताए। बैठकमा विष्टले बोल्दा सबै जसो सदस्य स्तब्ध बनेको एक सदस्यले बताए । उनले भने ‘गोकर्णजी बोल्नुभो माहोल नै स्तब्ध पार्नुभो, सबैले मुखामुख गरे ।’

चार दिनदेखि जारी स्थायी समितिको बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम जारी छ। स्थायी कमिटी बैठकमा अर्का सदस्य सत्यनारायण मण्डलले प्रदेश नम्बर दुई अराजकताको केन्द्र बनेको टिप्पणी गरेका छन् ।

“प्रदेश २ मा धेरै अराजकता बढेको छ । कमिटीको निर्णय नमान्ने प्रचलन बढेको छ । अन्तरविरोध स्वस्थ छ भने ठीकै हो । नत्र स्वच्छन्दता हाबी हुन्छ,” उनले भने ।
उपनिर्वाचमा मधेसमा नेकपाको भोट बढेको कुरा पनि आफूले बैठकमा राखेको जानकारी दिए ।

“महोत्तरीको पिपरा गाउँपालिका हामीले जितेका छौं । अन्य स्थानमा पनि भोट राम्रो आएको छ,” उनले बैठकमा भनेको कुरा बाह्रखरीलाई बताए ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरू माथि स्थायी कमिटीका सदस्य र आमन्त्रित सदस्यले विचार राख्नेक्रम जारी रह्यो ।

मातृका यादव, वर्षमान पुन, लीलामणि पोखरेल, प्रदीप ज्ञवाली, गिरिराजमणि पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेलले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि आ–आफ्ना धारणा राखेका थिए ।

स्थायी कमिटी सदस्यहरूले पार्टीलाई व्यवस्थित गर्ने, संगठनलाई अझ सुदृढीकरण गर्ने, विचार र आचरण सुधार गर्नुपर्ने, पार्टीको आगामी कार्ययोजनालाई मूर्त बनाई कार्यान्वयन गर्नुपर्ने, सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने जस्ता विषय उठाएको बैठकपछि जारी वक्तव्यमा उल्लेख छ ।

स्थायी कमिटीको अर्को बैठक बिहीबार पुस ३ गते बिहान ११ बजे धुम्बाराही, काठमाडौंमा बस्ने नेकपाले बताएको छ ।