देशव्यापी बन्दै भारत बिरोधि अभियान - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

देशव्यापी बन्दै भारत बिरोधि अभियान



काठमाडौं- भारत सरकारले नेपाली भूमिलाई आफ्नो भुभागमा समेटेकोमा हेटौंडाका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्। आज मकवानपुरको हेटौंडामा विद्यार्थीहरूले विरोध जुलुस प्रदर्शन गरेका छन्।

लिपुलेक, कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा हेटौँडामा पनि ‘गो व्याक इण्डिया’ को नारा लगाईएको हो। अनेरास्ववियुका विद्यार्थीहरूले नेपाली भु–भाग अतिक्रमण गरेकोमा विरोध प्रर्दशन गरेका हुन्। हेटौंडा क्याम्पस, मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले हेटौँडा बजारका विभिन्न भागको परिक्रममा गरेका थिए। र्‍यालीपछि हेटौँडाको बुद्धचोकमा कोणसभा भएको थियो। सभामा बोल्दै विद्यार्थी तथा युवा नेताहरूले भारतलाई यथाशीघ्र गल्ति सुधार्न चेतावनी दिए।

हेटौँडाका विद्यार्थीहरुले भारतीय विस्तारवाद, हेपाह प्रवृत्ति तथा अतिक्रमणकारी रबैयाप्रति विरोध जनाउँदै तत्काल नक्सा सच्याउन सचेत गराएका थिए। विद्यार्थीहरूले एक छिमेकीको नाताले यो कार्य साह्रै निन्दनीय भएको बताएको छ।

र्‍यालीमा सहभागीले ‘गो व्याक इण्डिया’, भारतीय सेना नेपाल छोड, खराब छिमेकी चाहिदैन–नेपाली भूमि मिच्न पाईदैन, हाम्रो भूमि हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगायतका नारा लगाएका थिए।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले भारतले असल छिमेकीको भूमिका निभाउन छोडेर नेपालप्रति गरेको व्यवहार अब सैह्य नहुने बताए।

भारत पागल मनोबृत्ति भएको छिमेकीका रूपमा देखा परेको टिप्पणी गर्दै उनले भारतको हरेक रबैयामा कडा जवाफ दिन युवा तयार रहेको बताए। उनले नेपाली युवाहरुको जोस भारतको विरुद्ध प्रयोग गर्न बाध्य नपारियोस् भन्दै पछाडि हट्न भारतलाई चेतावनी दिए।

अनेरास्ववियुका केन्द्रिय सदस्य पविना लामा, पूर्व जिल्ला अध्यक्ष किशोर टण्डल लगायतले भारतपछि नहटे लिपुलेकमै पुगेर आफ्नो भूमि फिर्ता ल्याउने चेतावनी दिए।

कार्यक्रममा मकवानपुर क्याम्पसका स्ववियु सभापति कुमार केसी, हेटौडा क्याम्पसका स्ववियु सभापति उमेश पुरी, निर्मल माविका स्ववियु सभापति श्याम कँडेल, पूर्व विद्यार्थी नेता श्रवण बर्तौला, लगायतक विद्यार्थी नेताहरूको उपस्थिति थियो।