अमेरिकामा ‘ग्लोवल नेपाली फिल्म अवार्ड' हुने ,को-को जादै छन् हेर्नुस ! - Himal Post Himal Post
  • १० आश्विन २०८०, बुधबार
  •      Wed Sep 27 2023
Logo

अमेरिकामा ‘ग्लोवल नेपाली फिल्म अवार्ड’ हुने ,को-को जादै छन् हेर्नुस !



कोलोराडोको डेनभर सहरमा आगामी कात्तिक २७ गते अर्थात् नोवेम्बर १२ तारिखका दिन हुन लागेको ‘ग्लोवल नेपाली फिल्म अवार्ड’को आयोजक समूहले अवार्ड समारोह र यसको उद्देश्यबारे पत्रकारहरुलाई जानकारी गराएका छन् । बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजक समूहले अवार्ड समारोहबारे जानकारी गराएको हो ।

बिआरटी नेपाल डटकम, अमेरिका नेपाल टेलिभिजन र नेपाल फिल्म सोसाईटीको संयुक्त आयोजनामा हुन लागेको ग्लोवल नेपाली फिल्म अवार्ड अमेरिकामा पहिलो पटक हुन लागेको फिल्म अवार्ड हो । नेपाली चलचित्रलाई विश्व सामु चिनाउने उद्धेश्यले पहिलो पटक आयोजना गर्न लागिएको अवार्ड भएकाले पनि यो अवार्डलाई निक्कै महत्वका साथ हेरिएको छ ।

बिआरटी नेपाल डटकमका शैलेश पोखरेल र अमेरिका नेपाल टेलिभिजनका नवराज श्रेष्ठ अमेरिकामा नै रहेकाले बिआरटी नेपाल डटकम र अमेरिका नेपाल टेलिभिजनका नेपाल प्रतिनिधि र नेपाल फिल्म सोसाईटीका अध्यक्षले नेपालमा पत्रकार सम्मेलन गरेर अवार्ड समारोहका बारेमा जानकारी दिएका हुन् ।

अवार्ड समारोह निष्पक्ष र पारदर्शी होस् भनेर बत्तिस सदस्यीय मूल समिति तथा अन्य विभिन्न समिति गठन गरिएको छ । समितिमा रहेका सदस्यहरू सबै यति बेला कार्यक्रमलाई सफल बनाउन आ आफ्नो तर्फबाट काम गरिरहेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले अमेरिकामा पहिलो पटक हुन लागेको अवार्डले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन मद्यत पुग्नुका साथै कलाकार र दर्शक बिचको सम्बन्ध पनि राम्रो हुने बताए ।

त्यस्तै कार्यक्रमलाई प्रायोजन गरेको शेर्पा बियरका फुर्वा शेर्पाले अमेरिकामा पहिलो पटक आयोजना हुन लागेको ग्लोवल नेपाली फिल्म अवार्डले नेपालको कला संस्कृति, नेपाली कलाकार र चलचित्र साथै नेपालको पर्यटनमा पनि टेवा पुग्ने र जति जना कलाकार यो अवार्डमा सहभागी भए पनि उहाँहरू व्यक्ति नभई सिगों नेपाली चलचित्र क्षेत्र अमेरिका जान लागेको महसुस भएकाले आफ्नो तर्फबाट पनि सकेको सहयोग गर्नु पर्ने लागेर यो अवार्डको प्रायोजक बसेको बताउँदै यो अवार्डमा आफू पनि जोडिन पाएकोमा खुसी लागेको भन्दै कार्यक्रमको सफलताको लागि शुभकामना दिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष राज कुमार राईले अवार्डमा जो जो कलाकार सहभागी हुँदै छन्, यो हामी सबै कलाकारको सहभागिता हो भन्ने सम्झेर अवार्डका लागि जाँदै गरेका कलाकारलाई सबै कलाकारले सहयोग गर्न आग्रह गरे ।

पत्रकार सम्मेलन कार्यक्रममा नायक शिव श्रेष्ठ, भुवन केसी, कलाकारहरू बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ , लगायत विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

अवार्ड समारोहका लागि नायक कृष्ण मल्ल, शिव श्रेष्ठ, राज बल्लभ कोइराला, कलाकार सुनिल थापा, बसुन्धरा भुसाल नायिका शर्मिला मल्ल, नायक तथा निर्माता मधु श्रेष्ठ, सङ्गीतकार सम्भुजित बास्कोटा, नृत्य निर्देशक वसन्त श्रेष्ठ, चलचित्र वितरक प्रदिप उदय, संचारकर्मी सरोज केसी, जय प्रकाश रिजाल, कार्यक्रम सन्चालिका जिज्ञासा अर्याल, चलचित्र निर्देशक नारायण पुरी, निर्माता काजी सुमन विष्ट, हास्य कलाकार नारायण त्रिपाठी, नायिका अशिस्मा नकर्मी, यूना उप्रेती, नन्दिता केसी, नायक गणेश उप्रेती, नायक विक्रान्त बस्नेत, हास्य कलाकार शिव हरि पौडेल, चलचित्र बोर्डका अध्यक्ष राज कुमार राई, चलचित्र कलाकार सङ्घ नेपालका अध्यक्ष राम किसर बगोटी, चलचित्र निर्देशक उदय सुब्बा, चलचित्र निर्देशक श्याम भट्टराई, चलचित्र निर्देशक एभरेस्ट सूर्य बोहरा, वरिष्ट चलचित्र उत्पादन नियन्त्रक गेहेन्द्र धिमाल अवार्ड समारोहका लागि डेनभर जाने भएका छन् ।