गिरिजाप्रसादलाई कसले सम्झियो, कसले बिर्सियो ?
नेपाली राजनीतिक शिखर पुरुष तथा नेपाली कांग्रेसका भूतपूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालालाई पार्टीले बिर्सिएको छ।
सोमबार उनको ९५औं जन्मजयन्ती पार्टी संस्थापनले बिर्सिएको हो। कोइरालाको जन्मजयन्तीमा पार्टी नेतृत्वले कुनै कार्यक्रम नगरे पनि १३औं महाधिवेशन पछि पार्टीभित्र तेस्रो गुटका रूपमा उदाएका नेता कृष्णप्रसाद सिटौला समूहले भने उनलाई सम्झिएको हो। यो खबर आजको राजधानी दैनिकले छापेको छ।
‘गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले’ राजधानीमा गरेको कार्यक्रममार्फत सो समूहले स्वर्गीय कोइराला र उनको योगदानको खाँचो वर्तमान अवस्थामा औंल्याएका हुन् । ‘कांग्रेसले राजनीतिक मुद्दा जित्यो, निर्वाचन परिणाममा हा¥यो, अब कसो गरे उँभो लाग्ला रु’ शीर्षकमा भएको अन्तक्रियामा नेपाली राजनीतिमा स्वर्गीय कोइरालाले निभाएको योगदानको चर्चा गरिएको थियो ।
सिटौलाले मानिसको जीवनको रक्षा गर्ने लोकतन्त्र नै कोइरालाको चाहना रहेको बताए । कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका नेता सिटौलाले राजनीतिको हरेक क्षणमा समयको तत्कालिक प्रभाव बुझ्न सक्ने खुबीका कारण गिरिजाप्रसाद सधैं चर्चामा रहेको भन्दै उनको चरित्रलाई वर्तमान पार्टी नेतृत्वले ग्रहण गर्न सक्नुपर्ने बताए।
सिटौलाले पार्टी सभापति घरमूली भएको भन्दै नयाँ आशा र भरोसाका साथ पार्टीलाई एकताबद्ध बनाउन सभापति नै अग्रसर हुनुपर्नेमा जोड दिए । ‘पार्टी सभापति नै पार्टीभित्रको घरमूली हो । उहाँले सबैलाई एकताबद्ध गर्दै नयाँ आशा र भरोसाका साथ सबैलाई साथ लिएर हिँड्न सक्नुपर्छ । त्यसका लागि स्वर्गीय गिरिजाप्रसादको चरित्रलाई सम्झिए पुग्छ,’ सिटौलाले भने।
उनले लोकतान्त्रिक चरित्रबाट सत्ता उम्किन खोजेको भन्दै कम्युनिस्ट पार्टीलाई लोकतान्त्रिक चरित्रमा राख्न सक्ने हैसियत कांग्रेसले देखाउनुपर्ने र त्यो हैसियत निर्माण गर्न सबै एक हुनुपर्नेमा जोड दिए।‘कांग्रेसका लागि कम्युनिस्टहरूलाई लोकतान्त्रिक चरित्रमा राखिराख्नु अहिलेको चुनौती हो । त्यो हैसियत बनाउन सबै एक हुनैपर्छ,’ सिटौलाले थपे ।
उनले पार्टीभित्र आमूल परिवर्तनको आवश्यकता रहेको भन्दै आजकै व्यवहार र शैलीले जनताका बीच जान नसकिने समेत जनाए । कार्यक्रममा कांग्रेस युवा नेता प्रदीप पौडेलले स्वर्गीय कोइरालालाई पछिल्लो पुस्ताले बिर्सने स्थिति सिर्जना हुँदै गएको बताए।
सांसद भीमसेनदास प्रधानले सबै राजनीतिक शक्तिलाई एक ठाउँ उभ्याउन सक्ने खुबी भएका कोइरालाको अभाव पार्टीले झेलिरहेको भन्दै जनतालाई अनुभूति हुने खालको नेतृत्व पार्टीले चाहेको बताए ।कार्यक्रममा नेताहरू उमाकान्त चौधरी, शिव हुमागाईं, तीर्थमान डंगोललगायतले स्वर्गीय कोइरालाले नेपाली राजनीतिक क्षेत्रमा दिएको योगदानको स्मरण गरेका थिए।
२०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिस्टप्रति कडा रूपमा प्रस्तुत हुने कोइरालाको छवि कम्युनिस्ट विरोधीका रूपमा समेत चर्चामा थियो । २०४६ सालको जनआन्दोलन पछिको दशकमा उनको नाम कम्युनिस्ट विरोधीको पर्यायकै रूपमा आउने गरेको थियो।
युद्धकालमै माओवादीसँग राजतन्त्रविरुद्ध सहमति गरेपछि कांग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो तर कोइरालाको व्यक्तित्वका अगाडि त्यो विरोध गौण सावित भयो।