गौतमबुद्ध विमानस्थलको निर्माण कार्य किन रोकियो ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गौतमबुद्ध विमानस्थलको निर्माण कार्य किन रोकियो ?



काठमाडौं। निर्माणको काम अन्तिम चरणमा रहेका बेला अहिले भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण कार्य रोकिएको छ । सरकारी लापर्बाहीका कारण निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणकार्य रोकिएको हो । सरकारी कमजोरीकै कारण यस आयोजनाको मुख्य मानिएको धावनमार्ग निर्माणको काम आइबतारबाट रोकिएको छ । ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले यसअघि सम्पन्न भइसकेको कामको समेत भुक्तानी नपाएको भन्दै आइतबारबाट धावनमार्ग बनाउने काम रोकेको हो ।

ठेकेदार कम्पनीका अनुसार अहिले यस विमानस्थल निर्माण आयोजनामा नगद प्रवाहको समस्या भएको छ । लामो समयदेखि भइसकेको कामको भुक्तानीका लागि आयोजनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तोकता गरेको थियो । सम्पन्न भइसकेको कामबापत प्राप्त हुनुपर्ने भुक्तानीका लागि मन्त्रालयले फाइल बेलैमा एसियाली विकास बैंकमा नपठाउँदा ठेकदार कम्पनीले समयमा भुक्तानी नपाएको हो ।

यस्तो अवस्थामा नदीजन्य गिट्टी बालुवाको आपूर्तिमा पनि समस्या भोग्नुपरेको सो आयोजनाले जनाएको छ । दाङ, चितवन र बुटवलबाट आयोजनाका लागि गिट्टी बालुवा ल्याउनसमेत अहिले विभिन्न क्षेत्रमा अवरोध भएको सो आयोजनाले जनाएको छ । ठेकदार र स्थानीय तहबीच कुरा नमिलेर क्रसरजन्य सामग्रीको आपूर्ति रोकिँदा आयोजनाका लागि आवश्यक निर्माणजन्य वस्तु आपूर्तिमा समेत समस्या भएको जानकारी गराउँदै सो आयोजनाले यस्ता समस्या समधान नगरिए विमानस्थल समयमै सम्पन्न गरेर सञ्चालनमा ल्याउन चुनौती थपिएको बताएको छ ।

आगामी १ जेठपछि यहाँ प्रयोग हुँदै आएको नदीबाट गिट्टी बालुवा झिक्न रोकिने भन्दै यस्ता विषयमा गम्भीर भइएन भने आयोजनामा ठूलो असर पर्ने आयोजनाले बताएको छ । ठेकदारलाई भुक्तानी दिन उठाइएको फाइल मन्त्रालयमै थन्क्याएर पर्यटन सचिव मोहनकृष्ण सापकोटा हाल प्रधानमन्त्रीसँगै भियतनाम भ्रमणमा छन् ।
अर्थसचिव र पर्यटन सचिवले एक मिनेट कुरा गरेर यो समस्या समाधान गर्न सक्ने अवस्था भएको बताउँदै आयोजना स्रोतले भन्यो, ‘आयोजनाप्रति पछिल्लो समय मन्त्रालय जिम्मेवार ढंगले प्रस्तुत भएको छैन ।’ ठेकदारलाई नेपाल नागरिक उड्डयन प्राधिरकणबाट दिनुपर्ने भुक्तानी भने समयमै दिइएको छ । एडीबीमार्फत गर्नुपर्ने करिब १० करोडभन्दा बढी भुक्तानी भने रोकिएको छ ।

‘ठेकदारले सप्लायर्स र कामदारलाई सरकारबाट जतिसक्दो छिटो भुक्तानी प्राप्त हुने आशाले एउटा भाका राखेर भुक्तानीका लागि आश्वासन दिएको हुन्छ । तर, समयमा भुक्तानी नपाएपछि सप्लायर्स र कामदारले समेत काम बन्द गरिदिएको सो आयोजना स्रोतले बताएको छ ।
अहिलेसम्म यस आयोजनाको धावनामार्गको अन्तिम चरणको कालोपत्रे हुँदै छ । अब ५ सय मिटर मात्रै बाँकी रहँदा निर्माणको काम नै रोकिएको हो । तर, धावनमार्ग र जमिन व्यवस्थापनबाहेक अन्य काम भने जसोतसो ठेकेदारले सुचारु राखेको छ । तर, अझै रकम दिन ढिला गरे ठेकदारले सम्पूर्ण आयोजनाको काम ठप्प पार्ने देखिएको छ । सरकारले सन् २०१९ भित्रै यो विमानस्थल निर्माण गरेर सञ्चालन गर्ने लक्ष्य लिएको छ ।