आनुवंशिक स्रोतको उपयोगले घोडाघोडीमा आर्थिक लाभ

विशाल पाण्डेय / घोडाघोडी ।
आनुवंशित स्रोतहरुको संरक्षण ,परम्परागत ज्ञान ,सदुपयोग र लाभको बाँडफाँड सम्बन्धि छलफल सम्पन्न भएको छ ।
वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा घोडाघोडी नगरपालिकामा आनुवंशिक स्रोतहरु के के छन् ? स्रोतको सदुपयोग गरि कस्तो खालको लाभ लिन सकिन्छ ? भन्ने विषयमा शुक्रबार सुखडमा छलफल भएको हो ।
आनुवांशिक स्रोतमा पहुँच तथा लाभको बाँडफाँड सम्बन्धि रणनीति तथा कार्ययोजना तर्जुमा समितिका सदस्य गोबिन्द बस्नेतले आनुवंशित स्रोतमा पहुँच तथा लाभको बाँडफाँड सम्बन्धि नागोया अभिसन्धीमा २०१० मा लागू भएको भएपनी नेपालमा यस संग सम्बन्धित कानुन बनाउन नसकेको बताए । नागोया अभिसन्धी कार्यान्वयन गराउनको लागि सात वटै प्रदेशमा प्रदेश स्तरीय र एक/ एक वटा पालिकाहरुमा छलफल गरिएको बस्नेतले जानकारी दिए । आनुवंशित स्रोतहरुको संरक्षण , परम्परागत ज्ञान ,सदुपयोग गरे नगरपालिकाले प्रशस्त मात्रामा आर्थिक लाभ लिन सक्ने बस्नेतले बताए ।
कार्यक्रममा घोडाघोडी नगरपालिकामा लोप भएका अन्नबाली ,वनस्पति ,जडिबुटी लगाएतको बारेमा सहभागीहरुसंग छलफल गरिएको थियो । आधुनिक खेतिले गर्दा परम्परागत खेती तर्फ लोप भएको सहभागीले बताएका छन् । सहभागीले परम्परागत खेतीमा खासै आम्दानी गर्न नसक्दा आधुनिक खेती तर्फ आकर्षित भएको बताउदै उक्त कानुन बनाइ छिटो भन्दा छिटो कार्यान्वयनमा लाउनु पर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा घोडाघोडी नगरपालिकाका जनप्रतिनिधि , कर्मचारी , विभिन्न संघसंस्थाका प्रतिनिधि ,कृषक लगायतको सहभागीता रहेको थियो ।

