घोडाघोडीमा अनुगमन : बढी बालुवा मिसिएको ग्राइभेलको प्रयोग
विशाल पाण्डेय / सुखड,कैलाली ।
घोडाघोडी नगरपालिकाका विभिन्न वडाहरुमा भएका विकासे योजनाहरुको अनुगमन गरिएको छ ।
बिहिवार घोडाघोडी नगरपालिकाका उप प्रमुख तथा योजना अनुगमन समितिका संयोजक प्रेम कुमारी थापाको संयोजकत्वमा वडा नं ९ र ११ मा भएका विकासका आयोजनाहरु अनुगमन गरिएको हो ।
घोडाघोडी नगरपालिकाका ११ नं वडामा ग्राइभेल सडक र खानेपानी ट्याङ्कीको अनुगमन गरिएको छ । कलमान सिंह बोगटिको घरदेखि नन्दराम बुढाको घरसम्म ग्राइभेल सडक निर्माण गरिएपनी सडक पूरा नहुदा रकम कटौती गरि त्यहासम्मको मात्र रकम भुक्तानी दिने नगरपालिकाका सब इन्जिनियर त्रिलोक शाहिले बताए । ग्राइभेल सडक स्टिमेटमा ६५६ मिटर लम्बाई भएपनी ३५० मिटर मात्र सडक ग्राइभेल गरिएको घोडाघोडी नगरपालिका- ९ का वडाध्यक्ष कृष्ण शाहले बताए । उनले भने, ‘सुरुमा सडक निर्माणका लागि जग्गा दिने भनेर काम सुरु गर्यौ तर, जग्गा पाएनौ र काम आधा मात्र भयो । अब केही समयपछि पुन नयाँ उपभोक्ता समिति गठन गरि काम सुरु गर्ने छौं ।’
साथै घोडाघोडी नगरपालिका- ९ कै रोल्पा भन्ने ठाउँमा नगरपालिकाको २ लाख ५० हजार लागतमा निर्माण गरिएको रोल्पा खानेपानी आयोजनाको समेत अनुगमन गरिएको छ । अनुगमनका क्रममा खानेपानी ट्याङ्की तथा धारा स्टिमेट अनुसार काम भएको सब इन्जिनियर शाहिले बताए ।
त्यस्तै घोडाघोडी नगरपालिकाको वडा नं ११ सिसैयाको वडा नं १० र ११ जोड्ने भित्री ग्राइभेल बाटो, लोहरखिरया जाने बाटो ग्राइभेल ,आदर्श प्राबी जाने बाटो ग्राइभेल लगायतका आयोजनाहरु अनुगमन गरिएको छ । अनुगमनका क्रममा बाटोमा राम्रोसंग रोलरले नच्यापेको तथा ग्राइभेल हाल्दा बढी बालुवासंगको ग्राइभेल हालेको पाइएपछि पुन ग्राइभेल हाली रोलर लगाउन निर्देशन दिएको घोडाघोडी नगरपालिकाका अर्का सब इन्जिनियर बिष्णु न्यौपानेले बताए ।
अनुगमनमा संबंधित वडाका वडाध्यक्ष, उपभोक्ता समितिको अध्यक्ष , स्थानिय बासिन्दा तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।