सङ्कटमा घोडाघोडी ताल, बाँध जिर्ण हुँदा बस्ती नै जोखिममा
विशाल पाण्डेय / घोडाघोडी ,कैलाली ।
विश्व रामसारमा सूचीकृत कैलालीको घोडाघोडी ताल सङ्कटमा पर्न थालेको छ ।
तालमा पानी सुक्दै जानू र झारले दिन प्रतिदिन ताल पुरिँदै गएपछि सिमसारमा सूचीकृत घोडाघोडी तालको अस्तित्व नै सङ्कटमा पर्न लागेको हो ।
कमलको फुल तथा विभिन्न किसिमका झारहरू कुहिएर ताल पुरिन थालेपछि त्यहाँका जैविक विविधता नै नष्ट हुने हो कि भन्ने संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।
सुदूरपश्चिम प्रदेशकै मुख्य पर्यटकीय गन्तव्यका रूपमा समेत रहेको घोडाघोडी तालको वरपर रहेको माटो तल झर्ने ,घाँस तथा बोटबिरुवाहरू मरेर पानीमा कुहिने र त्यो कुहिएको घाँस पुनः मलको रूपमा परिणत भई घाँस पलाउने प्रक्रिया दोहोरिनुले ताल पुरिँदै गएको बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका उपाध्यक्ष दयाराम (डी आर) चौधरीले हिमाल पोस्टलाई बताए ।
चौधरीले ताल क्षेत्रको संरक्षणको लागि जैविक विविधतालाई असर नपर्ने गरी वनस्पति तथा झारहरू हटाउन पर्ने बताए । झार तथा कमलको फुलहरू कुहिँदै गएको छ , अब जैविक विविधतालाई असर नपर्ने गरी सफा गरे मात्र ताल पुरिनबाट जोगिन सक्छ । उनले भने- तालमा बढी झार भएका कारण यो वर्ष चराहरू कम आएका थिए , चरा तथा गोहिहरुको वासस्थानलाई बचाएर खुल्ला पानीको व्यवस्था गरेमात्र ताल तथा तालमा बस्ने चराहरुलाई समेत राम्रो हुन्छ ।”
करिब १३८ हेक्टर क्षेत्रफलमा रहेको घोडाघोडी ताल क्षेत्रलाई विश्व जलचर इतिहासमा सङ्कटपूर्ण अवस्थामा पुगेका दर्जनौं जातका रैथाने माछाका प्रजाति, पुतली ,दुर्लभ मानिने चराचुरुङ्गीको तथा अन्य बन्यजन्तुहरुको उचित वासस्थानका रूपमा पनि लिइने गरिन्छ । घोडाघोडी ताल क्षेत्रमा २ सय ९९ प्रजातिका चरा रहेका छन् । जसमध्ये विश्वमा दुर्लभ मानिएका १४ प्रजातिका चरा भेटिएको एक तथ्यांकले देखाएको छ । घोडाघोडी ताल क्षेत्रमा ६४ वटा मगर गोही, ११ किसिमका शंखेकिरा, ४५० प्रजातिका वनस्पति तथा सालका प्रजातिमा निकै बहुमूल्य मानिने औषधिका रूपमा पनि प्रयोगमा आउने सतिसाल लगायतका बोट विरुवा तथा वनस्पतिहरु रहेका एक अध्ययनले देखाएको छ ।
यता घोडाघोडी नगरपालिकाका नगर प्रमुख तथा बृहत् घोडाघोडी पर्यटन बोर्डका अध्यक्ष ममता प्रसाद चौधरीले प्राकृतिक सम्पदाले धनी घोडाघोडी नगर क्षेत्रको विकास तथा संरक्षणका लागि आफुहरु लागिपरेको बताएका छन् । उनले भने , ‘घोडाघोडी ताल क्षेत्रमा पर्यटकिय सम्भावना ठुलो रहेकोले बाताबरणमा असर नपर्ने गरी सम्भावनाहरुको पहिचान गरी पर्यटन प्रवर्द्धनको लागी सबै मिलि संरक्षण गर्नु तर्फ लाग्नुपर्छ ।’ नगर प्रमुख चौधरीले घोडाघोडी क्षेत्रको पर्यटन प्रवर्द्धनको लागी गुरु योजना निर्माणको तयारी भइरहेको बताए । घोडाघोडी क्षेत्र विकासको लागि गुरुयोजना निर्माण सङ्गै एकद्धार प्रणालीको आवश्यकता रहेकोले एकद्धारा प्रणाली लागु गर्ने समेत नगर प्रमुख चौधरीले बताए ।
ताल संरक्षणका लागि नगरपालिकाले बृहत् घोडाघोडी पर्यटन बोर्ड गठन गरी लाखौं रुपैयाँ लगानी लगाएता पनि बालुवामा पानी हालेको जस्तो भएको स्थानीयले बताएका छन् । ताल क्षेत्रमा विभिन्न गैरसरकारी संघसंस्थाले वार्षिक लाखौं रुपैयाँ खर्च गर्दै आएपनि खासै उपलब्धि नहुदा ताललाई मागेर खाने भाँडो बनाएको समेत स्थानीयहरुले आरोप लगाएका छन् ।
बाँध जिर्ण हुँदा बस्ती नै जोखिममा
सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी तालको पानी निकासद्वार (गेट) तथा बाँध जीर्ण बन्दै गएपछि घोडाघोडी ताल आसपासका बस्तिहरु नै जोखिममा परेका छन् ।
जिल्ला विकास समिति कैलालीद्बारा करीब २५ वर्ष पहिले निर्माण गरिएको उक्त गेट भाचिएर तालको पानी र बाधको माटो निरन्तर बग्दै गएपछि आसपासका बस्तिहरु नै उच्च जोखिममा पर्ने सम्भावना देखिएको छ ।
बर्षातको समयमा पानीको चाप बढी तथा गेट पुरानो हुँदा निरन्तर लिक हुने पानीको बहाबले बाँधमुनिको माटो बगेर बाँध नै तल भाँसिने तथा तालको पानी सुक्दै जादा आसपास बस्ती तथा सिमसारको अस्तित्व नै सङ्कटमा पर्न सक्ने सरोकारवालाहरुले बताएका छन् ।
बर्षातको समयमा तालमा पानी भरिभराउ हुने र बाँध धेरै पुरानो भई जीर्ण बन्दै गएको हुँदा दक्षिण पट्टीको बस्ती नै जोखिममा रहेको घोडाघोडी जनजागरण मंचका अध्यक्ष दीपेन्द्र शाहिले बताए । शाहिले कौवा , घोडाघोडी लगायतका गाउँहरु जोखिममा परेको बताए ।
बर्षातको समयमा पानिको बहाब बढी हुने हुँदा गेटबाट पानी लिक भएर बाधको तल्लो सतहमा माटो खिइ जुनसुकै बेलामा पनि बाँध भत्किन सक्ने हुँदा गेट निर्माणमा ध्यान दिनुपर्ने स्थानिय सागर ढकालले बताएका छन् ।
पूर्वपश्चिम राजमार्गको छेउमै रहेको घोडाघोडी तालमा अघिल्लो बर्षको बर्षातमा पानीको चाप बढी हुँदा गेट जिर्ण बनेको बृहत् घोडाघोडी पर्यटन बोर्डका उपाध्यक्ष डी आर चौधरीले बताए । चौधरीले समयमै गेटको निर्माण नगरिए बर्षातको समयमा सो गेट भत्केर आधा दर्जन भन्दा बढी वस्ती डुबानमा पर्न सक्ने सम्भावना रहेको बताए ।
चौधरीले वातावरणमा कुनै असर नपर्ने गरी पुरानो बाँध भत्काएर त्यसै ठाउँमा नयाँ बाँध तथा पानी निकासद्वार निर्माणको प्रक्रियामा रहेको बताए । बाँध तथा पानी निकासद्वारको लागि सर्वे तथा डिजाइन भइरहेको छ ।
उनले भने , नयाँ गेट निर्माणको लागि हामी प्रक्रियामा छौँ । तर , प्रक्रिया लामो रहने हुँदा अहिलेको बर्षातको समाधानको लागि त्यै गेटलाई पुनर्निर्माण गर्ने योजना बनाउदै छौँ । ”
घोडाघोडी तालको संरक्षण तथा गेट निर्माणमा समयमै सरोकारवालाको ध्यान नगए तालमा बस्ने गोही, विभिन्न प्रजातिका माछा, जल पंक्षी तथा मानव वस्तिमा समेत ठूलो असर पर्ने स्थानीयहरुले बताएका छन् ।