घोडाघोडी महोत्सवको तयारी अन्तिम चरणमा, मुख्य मन्त्रीद्बारा उद्घाटन गरिने
विशाल पाण्डेय / सुखड ,कैलाली ।
“कला, संस्कृति, कृषि, पर्यटन र व्यापार, समृद्घ घोडाघोडी विकासको आधार” भन्ने मुल नाराका साथ कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा सोमबारदेखि संचालन हुन गइरहेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
विश्व रामसार सूचीमा सूचीकृत पर्यटकीय क्षेत्र घोडाघोडी ताल क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले घोडाघोडी उद्योग वाणिज्य संघको आयोजना र घोडाघोडी सहायता केन्द्र तथा घोडाघोडी बहुउद्देश्य युवा मञ्चको सह–आयोजनामा
सोमबारदेखि सुरु हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो ।
महोत्सवको उद्घाटन सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टद्बारा गरिने आयोजकले जनाएको छ । करिब एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने र दुई करोडभन्दा बढीको कारोवार हुने अपेक्षा गरिएको महोत्सवमा बालउद्यान, रमाइलो मेला, थारु गाउँ, मगरगाउँका साथै १०० भन्दा बढी व्यापारिक स्टल रहने आयोजकले जनाएको छ ।
बिभिन्न संस्कृति झल्कने झाकी समेत प्रस्तुत गरिने महोत्सवमा विद्यार्थीका लागि रु. ४० र अन्यका लागि ५० रुपैयाको टिकट लाग्नेछ भने अपांग तथा वृद्ध वृद्धाहरुलाई नि: शुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । महोत्सव सोमबारदेखि माघ २३ गतेसम्म चल्ने छ ।