घोडाघोडी क्षेत्रको विकासको लागी गुरु योजना बन्दैछ : नगर प्रमुख चौधरी - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

घोडाघोडी क्षेत्रको विकासको लागी गुरु योजना बन्दैछ : नगर प्रमुख चौधरी



जीवन बिष्ट / सुखड,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले नगर क्षेत्रमा पर्यटक प्रवर्द्धनको लागी बिस्तृत गुरु योजना निर्माण भइरहेको बताएका छन् ।

बिश्व पर्यटन दिवसको अवसरमा आज सञ्चारकर्मी सँग कुराकानी गर्दै नगर प्रमुख चौधरीले पर्यटक प्रवर्द्धनको लागी बिस्तृत गुरु योजना निर्माण भइरहेको बताएका हुन । उनले भने, “प्राकृतिक सम्पदाले धनी घोडाघोडी नगरक्षेत्रमा पर्यटकिय सम्भावना ठुलो छ । यहाका सम्भावनाहरुको पहिचान गर्दै छौ ।” उनले थपे, ‘पर्यटन प्रवर्द्धनको लागी सबै सँग हातेमाले गर्दै गुरुयोजना निर्माणमा जुटेका छौ ।’ नगर प्रमुख चौधरीले अवको एक वर्ष भित्रै गुरुयोजना तयार भइसक्ने दावी समेत गरे ।

पर्यटन विकासको लागी गुरुयोजना निर्माण भइसकेछी घोडाघोडी नगरपालीकाले पर्यटनको क्षेत्रमा फड्को मार्छ यसमा ढुक्क हुनुस । उनले भने, “घोडाघोडी ताल क्षेत्रमा हाल सम्म करिवन ९० हजार आन्तरिक पर्यटकहरुले अवलोकन गरी सकेका छन् ।” अब बाह्य पर्यटकहरु बढाउन पहल थालिएको चौधरीले जानकारी दिए । पर्यटन प्रवर्द्धनको लागी एकद्धार प्रणालीको आवश्यकता रहेको उनले बताए । गुरुयोजना निर्माण सँगै एकद्धारा प्रणाली लागु गर्ने प्रतिवद्धता समेत उनले जनाएका छन् ।

के – के पाईन्छ घोडाघोडी ताल क्षेत्रमा

दुई हजार ५६३ हेक्टर क्षेत्रफल ओगटेको घोडाघोडी क्षेत्रभित्र ठूला र साना गरी २० अन्य ताल छन् । तालै तालले मात्र दुई सय ४८ हेक्टर क्षेत्रफल ओगटेको बताइएको छ । विश्व जलचर इतिहासमा सङ्कटपूर्ण अवस्थामा पुगेका दर्जनौं जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङ्गीको उचित वासस्थानका रुपमा लिइने गरिन्छ ।

हालसम्मको अध्ययनअनुसार यहाँ ४५० प्रजातिका वनस्पति, सालका प्रजातिमा निकै बहुमूल्य मानिने औषधिका रुपमा पनि प्रयोगमा आउने सतिसाल, साज, खयरको घना जङ्गल रहेको छ ।

किंवदन्तीअनुसार तालको उत्पत्तिभन्दा पहिले यहाँ ठूलो मानव बस्ती रहेको र त्यो मानव बस्ती तालमा डुबेको थियो । अहिले पनि तालभित्र बस्तीजस्ता आकृति देखिने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

ताल संरक्षणका लागि विभिन्न सङ्घसंस्थाले बर्से्नि लाखौँ रुपैयाँ खर्चने गरेको भए पनि त्यसको उपयोगिता हुन नसकेको स्थानीयवासीको आरोप छ । विभिन्न झारपात र जलकुम्भीे तालको सोभा घटाएको त्यहाँ आउने आन्तरिक पर्यटकले गुनासो गर्ने गरेका छन् ।

बहुआयामिक दृष्टिकोणले महत्वपूर्ण मानिने सो तालको जिविस, ताल संरक्षण समिति लगायत अन्य सङ्घसंस्थाले संरक्षण र सम्बर्द्धनमा ध्यान दिने हो भने आन्तरिक तथा बाह्य पर्यटनमा घोडाघोडी ताल एउटा राम्रो गन्तव्य बन्न सक्ने स्थानीयवासी मनिष सापकोटाले बताए ।