दुर्गन्धित बन्दै घोडाघोडी : नगरपालिकाले चासो दिएन

विशाल पाण्डेय / घोडाघोडी ।
पुर्व पश्चिम् राजमार्गमै जोडिएको ठाउँ हो घोडाघोडी नगरपालिका । नगरपालीकामा फोहोर व्यवस्थापन नहुदा दिन प्रतीदिन दुर्गन्धीत बन्दै गएको छ । बिषेश गरी नगरपालीको मुटुको रुपमा रहेको सुखड बजारको अवस्था झनै दयनीय छ । राजमार्गको छेउमै रहेको सुखड बजार दुर्गन्धीत हुँदा लामो तथा छोटो दुरिमा हिड्ने यात्रुहरुलाई आवत जावत गर्न समेत कठीन भएको छ ।
फोहोर व्यवस्थापन नहुदा स्थानीय बासिन्दा तथा व्यापारीहरुलाई समेत असर गरेको छ । बजारमा कुहीएको तरकारी, फलफुलका छोडाएका बोक्राहरु, प्लाष्टीक जन्य पर्दाथ, होटल तथा अन्य पसलहरुबाट निस्केको फोहोरले दुर्गन्धित हुँदा विभिन्न किसिमका रोगहरु लाग्ने हो कि भनेर स्थानीय वासिन्दा तथा व्यापारीहरु त्रसित बनेका छन् । घोडाघोडी नगरपालिकाका मुख्य बजार पहलमानपुर, सुखड र साडेपानीमा फोहोर व्यवस्थापन नहुदा व्यापारी तथा स्थानीयहरु त्रसित बनेका हुन् ।
राजमार्ग कै छेउमा यस्तो दुर्गन्धित हुँदा आवतजावत गर्ने यात्रुहरुलाई नराम्रो असर पर्ने टिकापुर – धनगढी बसका चालक राम बहादुर चौधरीले बताए । सडक दुर्गन्धित हुँदा एक छिन बस रोक्दा पनि नाक थुनेर बस्नुपर्ने बाध्यता रहेको लम्कीबाट धनगढी जाँदै गरेका भिम देवकोटाले बताए ।
फोहोर व्यवस्थापन नहुदा आवतजावत गर्ने मानिसहरु तथा यहाँ बस्ने स्थानीय बासिन्दा र व्यापारीहरुलाई नराम्रो असर गरेको स्थानीय व्यापारी कमला ऐरले बताइन् । उनले भनिन ,” समयमै फोहोर नउठ्दा स्थानीय व्यापारी र स्थानीय बासिन्दालाई असर मात्र नगरी दैनिक ओहोरदोहोर गर्ने यात्रुहरुलाई यस ठाउँको बारेमा समेत नराम्रो असर पर्छ ।”
व्यापारीहरुले फोहोरलाई एक ठाउमा जम्मा नगरी जताततै फ्याक्ने गरेकाले पनी दिनप्रतीदिन फोहोर अव्यवस्थीत हुदै गएको बताइएको छ । तर ,व्यापारीहरुले भने आफुले त्यसो नगरेको बताएका छन् । उनीहरुले बजारमा फोहोर फाल्नका लागी राखीएका डस्बीनहरु साना हुदा , डस्बिनको व्यवस्थापन खासै नहुदा र समयमै फोहोर नउठ्दा यस्तो अवस्था सिर्जना भइ फोहोर अनियन्त्रीत भएको बताएका छन् ।
यस अघि आर्थिक बर्ष २०७५/०७६ का लागि सुखड दरख खानेपानी तथा सरसफाइ उपभोक्ता समितीले नगरपालिकासंग सम्झौता गरि फोहोर उठाउने जिम्मा लिएपनी अहिले भने सम्झौता सकिएर फोहोर नउठाइएको बताइएको छ । सुखड दरख खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका सचीव टेकराज आचार्यले असार मसान्तसम्म फोहोर व्यवस्थापनको लागि सम्झौता गरेको हुँदा अहिले फोहोर नउठाएको बताए । उनले पुन: नयाँ सम्झौता गर्न जादा नगरपालिकाले चासो नदिदा फोहोर व्यवस्थापन नभएको बताए ।
यता घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले फोहोर व्यवस्थापन के कसरी गर्ने ? भन्ने विषयमा छलफल चलिरहेको बताए । उनले चाडै नै फोहोरको व्यवस्थापन गर्ने बताए ।

