घोडाघोडी तालको गुरुयोजना निर्माण प्रक्रिया सुरु
विशाल पाण्डेय/ कैलाली ।
विश्व रामसार सुचिमा सुचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रको विकासको लागि वृहत् गुरुयोजना निर्माण प्रक्रिया सुरु भएको छ ।
बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डको आयोजनामा आइतबार सम्पन्न भएको घोडाघोडी तालको पर्यटन विकासका लागि गुरु योजना निर्माण सम्बन्धि अभिमुखिकरण कार्यशाला गोष्ठी कार्यक्रममा गुरु योजना निर्माण प्रक्रिया आजदेखी सुरु भएको बताइएको हो ।
घोडाघोडी नगरपालिकाका नगर प्रमुख तथा बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका अध्यक्ष ममता प्रसाद चौधरीले लामो समयको प्रतीक्षा पछि गुरुयोजना निर्माण कार्यले गति लिन लागेको बताए । उनले गुरुयोजना निर्माणका लागि साझा दृष्टिकोण र सल्लाह सुझावको आवश्यकता रहेको हुनाले गुरुयोजनाको लागि आजदेखी सबैसंग छलफल कार्यक्रम सुरु गरिने बताए । उनले भने, ” घोडाघोडी ताल क्षेत्रमा पर्यटकिय सम्भावना ठुलो रहेकोले यहाँका सम्भावनाहरुको पहिचान गरि पर्यटन प्रवर्द्धनको लागी स्थानीय , बुद्धिजीवी ,संघ संस्था , सामुदायिक बन ,इको क्लब ,बाल क्लब , किसान लगायतका सबै व्यक्ती तथा संस्थाहरुसंगको छलफल र सुझाव लिएर आएको निचोड नै गुरुयोजनामा समावेश गरिने छ ।”
पूर्व–पश्चिम राजमार्गको छेउ मै रहेको पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा समेत रहेको घोडाघोडी ताल क्षेत्रको विकास र पर्यटक प्रवर्द्धनको लागी करिब ६/७ महिनासम्म वृहत् छलफल गरि करिब १ बर्ष भित्रमा गुरुयोजना निर्माण हुने नगर प्रमुख चौधरीले बताए । नगर प्रमुख चौधरीले घोडाघोडी तालको संरक्षण तथा पर्यटनलाई असर नपर्ने गरि कम्तीमा १० बर्षसम्मको लागि काम गर्ने गुरुयोजना निर्माणको प्रक्रिया सुरु भएको बताए । उनले जर्मन सहयोग नियोग (Giz) ले घोडाघोडी ताल क्षेत्रको गुरुयोजना निर्माणका लागि ७ जनाको विज्ञ टोलि खटाएको समेत जानकारी दिए ।
कार्यक्रममा जि आइ जेठ (Giz) का विज्ञ टोलि प्रमुख डाक्टर पर्निल उपाध्यायले नेपाली भुमिमा तालको भुमिका , ताल व्यवस्थापनका लागि नीति ,रणनीति ,घोडाघोडी ताल सन्दर्भका बारेमा , तालको गुरुयोजना निर्माणको विधि लगायतका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि तथा व्यक्तीहरुले गुरुयोजना निर्माण सम्बन्धि सुझाव समेत दिएका थिए । सुझाव दिने क्रममा कैलाली होटल व्यवसायी संघका अध्यक्ष नरेन्द्र शाहिले गुरु योजना निर्माण गर्दा होटल व्यवसायीहरुलाई फाइदा पुग्ने गरि काम गरिनुपर्ने बताए। उनले होटल व्यवसायीहरुलाई विज्ञ टोलिले तालिम तथा गोष्ठीहरुमा समावेश गराइ पर्यटन प्रवर्द्धन गर्न सहयोग गर्नुपर्ने बताए । सुझाव संकलनकै क्रममा स्थानिय नरहरि रिजालले पानीको स्रोतलाई संरक्षण र सम्बर्द्धन गर्न स्थानिय सरकारले पनि भुमिका खेल्नु पर्ने बताए । उनले पानीको स्रोतलाई संरक्षण नगरे घोडाघोडी ताल पनि सुक्ने सम्भावना रहेको बताए ।
त्यस्तै घोडाघोडी जनजागरण मंचका अध्यक्ष दिपेन्द्र शाहिले घोडाघोडी तालको लागि यसअघि पनि गुरुयोजना बनाइए पनि उपलब्धि खाशै नदेखिएको हुँदा आगामी गुरु योजना बनाउदा केन्द्र ,प्रदेश र स्थानीय गरि ३ तहको सरकारसंग समन्वय गरि गुरुयोजना बनाए मात्रै त्यो सफल हुने बताए । शाहिले घोडाघोडी तालको संरक्षण गरेबापत निजि क्षेत्र , सामुदायिक वन तथा त्यहाँका स्थानीयहरुलाई टेवा पुग्ने गरि गुरुयोजना निर्माण गरिनु पर्ने सुझाव दिए । साथै सिकाइ केन्द्रका अध्यक्ष शिव प्रसाद ढकालले घोडाघोडी नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण मानिसहरुलाई फाइदा पुग्ने गरि गुरुयोजना निर्माण गर्नुपर्ने सुझाव दिए ।
सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी तालको गुरुयोजनाको लागि जर्मन सहयोग नियोग (Giz) द्बारा डाक्टर पर्निल उपाध्यायको संयोजकत्वमा ७ जनाको टिमले घोडाघोडी ताल क्षेत्रको अनुसन्धान सुरु गरेका छ्न । जसमा डाक्टर राम बहादुर चौधरी ,डा. पुर्ण बहादुर नेपाली , इन्जिनियर समीर पौडेल , वातावरविद दिनेश चन्द्र जोशी , पदम विक्रम सिंह तथा स्थानीय विष्णा चौधरी रहेका छन् ।
करिब १३८ हेक्टर क्षेत्रफलमा रहेको घोडाघोडी ताल क्षेत्रलाई विश्व जलचर इतिहासमा सङ्कटपूर्ण अवस्थामा पुगेका दर्जनौं जातका रैथाने माछाका प्रजाति, पुतली ,दुर्लभ मानिने चराचुरुङ्गीको तथा अन्य बन्यजन्तुहरुको उचित वासस्थानका रुपमा पनि लिइने गरिन्छ ।
घोडाघोडी ताल क्षेत्रमा २ सय ९९ प्रजातिका चरा रहेका छन् । जसमध्ये विश्वमा दुर्लभ मानिएका १४ प्रजातिका चरा भेटिएको एक तथ्यांकले देखाएको छ । घोडाघोडी ताल क्षेत्रमा ६४ वटा मगर गोही, ११ किसिमका शंखेकिरा, ४५० प्रजातिका वनस्पति तथा सालका प्रजातिमा निकै बहुमूल्य मानिने औषधिका रुपमा पनि प्रयोगमा आउने सतिसाल लगायतका बोट विरुवा तथा वनस्पतिहरु रहेका एक अध्ययनले देखाएको छ ।