घोडाघोडीमा पाँच जना डेंगुका बिरामी भेटिए - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

घोडाघोडीमा पाँच जना डेंगुका बिरामी भेटिए



विशाल पाण्डेय / घोडाघोडी ।

कैलालीको घोडाघोडी नगरपालिकामा डेगुँ तथा स्क्रब टाइफसका बिरामी फेला परेका छन् । घोडाघोडी अस्पताल सुखडमा चेकजाँचका क्रममा पाँच जना डेंगु तथा १५ जना स्क्रब टाइफसका बिरामी फेला परेका हुन् ।

चेकजाँचका क्रममा लम्की चुहा नगरपालिकाका एकै घरका १५ वर्षिया दिदी र १० वर्षिय भाइमा डेंगु देखिएको अस्पतालका डाक्टर खेमराज चौधरीले जानकारी दिए । यस्तै घोडाघोडी नगरपालिकाका ३ जना गरि कुल ५ जनामा संक्रमण देखिएको डा. चौधरीले बताए ।

डेंगु रोग लागेमा लगातार अत्याधिक ज्वरो आउने, शरीरका विभिन्न अंगमा रगत जम्ने, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, चिलाउने वा सुन्निने, पिसाबमा रगत देखापर्ने, बान्ता गर्दा रगत आउने, कालो दिसा आउने लगायतका लक्षण देखापर्ने स्वास्थकर्मीहरुले बताएका छन् । एकजना गम्भीर डेंगु रोगी छ भने त्यस आसपासमा ३ देखि साँढे तीन सय डेंगुका बिरामी हुन सक्ने बैज्ञानिक तथ्यांक छ ।

अहिले डेंगु तथा स्क्रब टाइफसको संक्रमण व्यापक रुपले बढि रहेकाले सबैले सचेत रहन आवश्यक छ । समयमै यी दुई रोगको उपचार नगरेमा ज्यानै जान सक्ने खतरा भएकाले लक्षण देखापर्ने वित्तिकै उपचार गराउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

घोडाघोडी नगरपालिकाका स्वास्थ शाखा प्रमुख हेमराज बुढाले यसबाट बच्न घर वरिपरि सफा गर्ने, खाल्डाखुल्डी पुर्ने, छतमा पानी जम्न नदिने , घरका झ्यालढोकामा जाली लगाउने, बच्चालाई दिउँसो सुताउँदा पनि झुल प्रयोग गर्ने, करेसाबारी र गमलामा पानी जम्न नदिने , मानिसहरुको बढि भिडभाड हुने पानी जम्ने ठाउँलाई पुर्ने र लामखुट्टेका वासस्थान नष्ट गर्ने लगाएत यस सम्बन्धि जनचेतना जोगाउन आवश्यक रहेको बताए ।

देशभर फैलिएको डेंगु र स्क्रब टाइफसका रोगी पछिल्लो समय कैलालीका विभिन्न स्थानमा भेटिएका छन् ।