घोडाघोडीको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

विशाल पाण्डेय / कैलाली ।
घोडाघोडी नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
घोडाघोडी नगरपालिकाको आयोजना, घोडाघोडी सहायता केन्द्रको सहजीकरण र यु.एस.इ.डि सुआहारा फाया नेपालले सहयोग गरेको कार्यक्रम घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाको सभापतित्वमा सम्पन्न भएको हो ।
आर्थिक बर्ष २०७५/०७६ मा गरेका क्रियाकलापहरुको बारेमा नगरबासी, बुद्वीजिवी लगाएतलाई जानकारी गराउन तथा जनताको राय सुझाव लिनको लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले जानकारी दिए ।
सिंहले आ.व २०७५/०७६ को चालू तर्फ २६ करोड १६ लाख ५९ हजार ८८ रुपैयाँमा २० करोड ७६ लाख ५६ हजार ९ सय ६६ रुपैयाँ खर्च भएको जानकारी दिएका छन् भने पुजिगत तर्फ कुल २२ करोड ६७ लाख १८ हजार ७ सय ९५ रुपैयाँमा १२ करोड ६३ लाख ५३ हजार ४ सय ६ रुपैयाँ खर्च भएको जानकारी दिए । घोडाघोडी नगरपालिकाले आ.व २०७५/०७६ मा कुल जम्मा ७० करोड ७४ लाख ५२ हजारको वजेट विनियोजन गरेको थियो ।
नगरपालिकाले आव २०७५/०७६ र चालु आवको सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक बर्ष भरी
शिक्षा शाखा , स्वास्थ्य शाखा ,कृषि, योजना,पुश,महिला तथा बालबालिका र स्वरोजगार केन्द्र शाखाबाट के- के कार्यक्रमहरु भयो ? र कुन विषयमा कति खर्च लाग्यो ? भन्ने बारेमा विषयगत शाखाका प्रतिनिधिहरुले सहभागीहरुलाई जानकारी दिएका थिए ।
शाखाहरुले गरेका कामहरुको सन्दर्भमा सहभागी स्थानीयले सम्बन्धी शाखाका प्रतिनिधिहरुलाई सल्लाह सुझाव तथा जिज्ञासा समेत राखेका थिए भने स्थानीयको जिज्ञासा मेटाउँदै सम्बन्धित शाखाका प्रतिनिधिहरुले आगामी दिनमा सबैको सल्लाह सुझाव लिएर अगाडि बढ्ने बताए ।
घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाले आर्थिक बर्षमा योजना अनुसारको कार्यक्रमहरु गरेको बताइन् । कार्यक्रममा स्थानीयहरुले दिएका सुझावहरुलाई आगामी बर्षमा सुधारिदै लैजाने बताउदै थापाले नगरको विकासको लागि सबै नगरबासीहरुको सहयोगको आवश्यक परेको बताइन् । नगरमा भएका कामहरु प्रती सबैले सल्लाह सुझाव दिए मात्र कार्यहरु राम्रोसँग सम्पन्न हुने उप प्रमुख थापाले बताइन् । उनले भनिन् , ” नगरमा हुने गरेका प्रत्येक योजनाहरुको स्थानीयहरुले पनि निगरानी गरि सल्लाह सुझाव दिनु पर्दछ ।” उनले थपिन , “नगरको विकासको लागि आगामी आर्थिक बर्षमा सम्पूर्ण नगर बासीहरुको सुझाव अनुसार काम गर्नेछौं ।”
सार्वजनिक कार्यक्रममा घोडाघोडी नगरपालिकाका विभिन्न राजनीतिक दलका नेता , जनप्रतिनिधि ,समाजसेवी ,बुद्धिजीवी , शिक्षक , विभिन्न संघसंस्थाका प्रतिनिधि , स्थानीय वासिन्दा ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

