किन सुरु भएन घोडाघोडी नगरपालिकाको भवन निर्माण ? - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

किन सुरु भएन घोडाघोडी नगरपालिकाको भवन निर्माण ?



विशाल पाण्डेय / कैलाली ।
जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेकोे घोडाघोडी नगरपालिकाको भवन निर्माणका काम अझै सुरु हुन सकेको छैन । बहुवर्षिय योजना अन्तर्गत करिब १८ करोड रुपैयाँमा सपिङ कम्प्लेक्स संगै साढे तिन तले भवन निर्माणको योजना बनाइएपनी आर्थिक बर्ष सकिन २ महिना मात्र बाँकी रहदा पनि भवन निर्माण कार्य सुरु हुन नसकेको हो ।

घोडाघोडी नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ मा भवन निर्माणकालागि करिब २ करोड ५० लाख तथा कम्प्लेक्स निर्माणका लागि करिब १ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको घोडाघोडी नगरपालिकाका प्रवक्ता मनराज शाहीले जानकारी दिए । नगरपालिकाको भवन निर्माणका लागि जग्गाको टुंगो नलाग्दा निर्माण कार्य अहिलेसम्म पनि सुरु नभएको प्रवक्ता शाहिले बताए ।शाहिले घोडाघोडी नगरपालिका-१ राजमार्गको छेउवै रहेको शिवशक्ती सामुदायिक बनको जग्गाको बारेमा कुरा चलिरहेको बताए ।

बहुवर्षिय योजना अन्तर्गत रहेको उक्त भवन निर्माणका लागि करिब ९ करोड तथा सपिङ कम्प्लेक्सको लागि ९ करोड गरि कुल १८ करोड रुपैयाँ बजेट लाग्ने घोडाघोडी नगरपालिकाका इन्जिनियर अशोक जोशिले बताए । जोशीले भवन निर्माणका लागि डिपिआर तथा भवनको मोडल समेत तयार भइसकेको बताए । उनले भने, ‘कस्तो खालको भवन निर्माण गर्ने भन्ने विषयमा कार्यपालिकाबाट समेत पास भइसकेको छ , अब सामुदायिक वनसंग जग्गाको सहमति भए लगत्तै टेन्डर आह्वान गरेर काम सुरु गर्नेछौं ।’

त्यस्तै घोडाघोडी निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले भवन निर्माणका लागि सामुदायिक बनका पदाधिकारीहरुसंग जग्गाको पहल गरिरहेको बताएका छन् । सामुदायिक बनसंग लगत्तै छलफल गरि सहमती भयो भने एक हप्ता भित्रबाटै भवन निर्माण प्रक्रिया अगाडि बढ्ने बताउदै सिंहले सपिङ्ग कम्प्लेक्स र भवन निर्माण भयो भने यहाँका स्थानीयहरुले रोजगार पाउने र व्यवस्थाय तर्फ उन्मुख हुने बताए ।

भवनको अभावले एउटै कोठामा चार शाखाको काम

घोडाघोडी नगरपालिकाले आफ्नै भवन निर्माण गर्न नसक्दा एउटै कोठामा चार शाखाको काम गर्नु परेको छ । दुई तले भवन भाडामा लिएर कार्यालय संचालन गरिरहेको नगरपालिकामा कोठा अभावले गर्दा एउटै कोठामा धेरै शाखाको काम गर्नु परेको हो ।

भवन अभावले महिला शाखा,स्वास्थ्य शाखा,शहकारी शाखा र दर्ता चलानी शाखा एउटै कोठामा वनाइएको छ । एउटै कोठावाट धेरै शाखाको काम गर्नुपर्दा अनेकौ अप्ठ्याराहरु खेप्नु परेको कर्मचारीहरुको गुनासो रहेको छ ।

एउटा शाखाको लागि कम्तीमा पनि दुई वटा कोठा उपलब्ध हुनुपर्ने भएपनी आफ्नै भवन नहुदा कोठा अभावको कारणले एउटै कोठामा चारवटा शाखा राख्दा काम गर्न असहज भएको घोडाघोडी नगरपालिकाका सहकारी शाखा प्रमुख कृष्ण विस्टले बताए । उनले एउटै कोठामा धेरै शाखा हुँदा होहल्ला बढी हुने र अर्को शाखालाई असर पर्ने तथा अभिलेख व्यवस्थापन गर्न गार्हो हुने गुनासो गरे ।

घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममता प्रसाद चौधरीले आफ्नै भवन नभएकोले यस्तो समस्या झेल्नुपरेको बताए । बहुवर्षिय योजनामा रहेको उक्त भवननिर्माणका लागि जग्गाको विषयमा सहमति नजुटेर भवन निर्माणमा ढिलाई भएको बताए । शिवशक्ती सामुदायिक बनसंग छलफलको कुरा अगाडि बढेको र अबको केही दिनमै भवन निर्माणको काम शुरुहुने बताउदै नगर प्रमुख चौधरीले कर्मचारी फेरबदलले गर्दा कार्यान्वयनमा समस्या रहेको समेत बताए । हाल नगरपालिकाको कार्यालयका लागी १४ वटा कोठा रहेका छन् भने १८ शाखावाट काम भइरहेको छ ।