घोडाघोडी नगरपालिकाले ६ महिनामा पर्याप्त बजेट खर्च गर्न सकेन - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

घोडाघोडी नगरपालिकाले ६ महिनामा पर्याप्त बजेट खर्च गर्न सकेन



 

विशाल पाण्डेय / सुखड ,कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनामा पर्याप्त विकास बजेट अर्थात् पुजिँगत खर्च गर्न सकेको छैन । नगरपालिकामा ठुलो रकम तलब भत्तामै खर्च भएको छ ।

चालू आर्थिक वर्षमा पुजिगत तर्फ नगरपालिकाले २६ करोड ८९ लाख ७६ हजार विनियोजन गरेको थियो । पौष मसान्त सम्म ५ करोड २१ लाख ९ हजार रकम मात्रै खर्च भएको छ । पुजिगत तर्फ करिब २० प्रतिशत मात्रै मात्रै खर्च गरेको नगरपालिकाले चालू तर्फ भने करिब २४ प्रतिशत रकम खर्च गरेको छ ।

चालु आर्थिक वर्षमा चालू खर्च तर्फ ४४ करोड ७६ लाख ५९ हजार बजेट विनियोजन गरेको थियो । पछिल्लो ६ महिनामा १० करोड ७९ लाख ९४ हजार खर्च भएको घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले जानकारी दिएका छन् । पर्याप्त कर्मचारी अभावमा पनि बजेट खर्च सन्तोषजनक रहेको उनको भनाइ छ । बोहराले कुल चालू आय तर्फ आन्तरिक स्रोत , समानिकरण र सशक्त अनुदान गरी ३ वटा शीर्षकमा बजेट विनियोजन गरेको जनाएको छ ।

आन्तरिक स्रोतमा आय तर्फ ५ करोड १७ लाख ७८ हजार रुपैयाँ रकम विनियोजन गरिएको थियो । त्यसमा १ करोड ५४ लाख ८४ हजार रुपैयाँ रकम खर्च भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बोहराले जानकारी दिए । उनले भने ,‘समानिकरण शीर्षकमा ९ करोड ८ लाख १२ हजार रकम विनियोजन गरिएको थियो, त्यसमा १ करोड १७ लाख २६ हजार रहेको छ । यस्तै सशक्त अनुदानमा २० करोड ५० लाख ६८ हजार रकम बिनियोज गरिएको मध्य ८ करोड ७ लाख ८३ हजार रकम खर्च भएको छ ।’

राजश्वमा लक्ष्य भेट्नै समस्या

घोडाघोडी नगरपालिकाले राजश्वमा लक्ष्य भेटाउनै समस्या देखिएको छ । आर्थिक वर्ष २०७५ र ०७६ मा लिएको ५ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य पूरा नहुने देखिएको छ । नगर भित्र रहेका विभिन्न आम्दानीका स्रोतहरू प्रभावकारी ढङ्गबाट प्रयोग नभएको हुँदा लक्ष्य पूरा नहुने देखिएको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७५ र ०७६ को ६ महिनासम्म कुल १ करोड ३२ लाख २७ हजार मात्र आम्दानी गरेको सोमबार पत्रकार सम्मेलन मार्फत नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाले छ महिनामा २७ प्रतिशत राजश्व सङ्कलन गरेको छ ।

नगरपालिकाले पछिल्लो ६ महिनामा सबैभन्दा बढी ढुङ्गा, गिट्टी र बालुवाबाट १ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ । सबैभन्दा कम ताल तलैयाबाट ८ लाख २८ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ भने नगरपालिकाले ६ महिनामा विभिन्न सिफारिस तथा दस्तुरहरूबाट २३ लाख ९९ हजार रुपैयाँ सङ्कलन गरेको जनाएको छ । ६ महिनामा २७ प्रतिशत राजश्व सङ्कलन गरेको नगरपालिकाले बाँकी रहेको ६ महिनामा ७३ प्रतिशत राजश्व सङ्कलन गर्न कठिन रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बोहराले बताए ।

नगरपालिकाले १ करोड ३२ लाख २७ हजार रुपैयाँ आम्दानी गरेको हो । यसरी पछिल्लो ६ महिनाको आम्दानी हेर्ने हो भनेपनि लक्ष्य अनुसारको रकम आम्दानी गर्न नसकिने देखिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बोहराले बताए । उनले भने, ‘लक्ष्य पूरा गर्न गाह्रो भए पनि हामीले लक्ष्य भेटाउने गरी काम गरिरहेका छौँ ।’

बोहराले नगरपालिकामा भएका ५७ वटा ताल मध्य ३ वटा तालको मात्र ठेक्का सम्झौता भएको र अन्य तालमा पनि सम्झौता भए राजश्व वृद्धि हुने दाबी गरेका छन् । उनले भने, ’हामीले यो आर्थिक वर्षमा ५ करोड आम्दानीको लक्ष्य राखेका छौँ , यहाँ भएका सबै तालहरूलाई ठेक्कामा लागि सम्झौता गरियो र आम्दानीका अन्य स्रोतहरूलाई प्रभावकारी ढङ्गबाट उपभोग गर्न सकियो भने लक्ष्य अनुसारको आम्दानी गर्न सकिन्छ ।’