जंगलमा घाँस काट्न गएका दुई युवतीमाथि प्रहरी जवानले गरे बलात्कार - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

जंगलमा घाँस काट्न गएका दुई युवतीमाथि प्रहरी जवानले गरे बलात्कार



परासी– बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुईजना प्रहरी जवानमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । मुद्दा चलाइएका प्रहरी जवान दंगा नियन्त्रण प्रहरी गण सुनवलमा कार्यरत हुन् ।

घटना गत वैशाख १ गतेको हो । गण नजिकैको जंगलमा घाँस काट्न गएका दुई युवतीमाथि प्रहरी जवानले छुट्टाछुट्टै बलात्कार गरेको आरोप छ ।

घटना भएको एक महिनापछि मात्र पीडितले प्रहरीसमक्ष जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विरेन्द्र थापाले बताए ।

घटना भए लगत्तै पीडित युवतीले केही नभनेको र केही दिनअघि मात्र जानकारी दिएकाले प्रहरी कहाँ उजुरी दिएको आफन्तले बताएका छन् । पीडित युवतीको उमेर २६ र १७ वर्ष छ ।

प्रहरी जवानलाई सम्बन्धित कार्यालयले निलम्बन गरेपछि अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइएको हो । मुद्दा चलाइएकामा डडेल्धुरा, मास्माण्डु गाउँपालिका–८ का २५ वर्षीया प्रेम खड्का र दाङ,गडवा गाउँपालिका–४ का २३ वर्षीया पाटेश्वर यादव छन् । उनीहरु दुवैलाई जर्बजस्ती करणीमा मुद्दा पक्रिया अघि बढाइएको नायब उपरीक्षक थापाले जानकारी दिए ।