काठमाडौंका घरबेटीले जातिय भेदभाव र छुवाछूत गरेको भन्दै कारबाहीको माग - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

काठमाडौंका घरबेटीले जातिय भेदभाव र छुवाछूत गरेको भन्दै कारबाहीको माग



काठमाडौं- नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले काठमाडौंमा डेरा गरी बस्नेहरुलाई जातिय भेदभाव तथा छुवाछूतको व्यवहार गरिएको भन्दै कारबाहीको माग गरेका छन् ।

बुधबार संसदमा बैठकमा विश्वकर्माले कैलालीकी दीपा नेपालीलाई काठमाडौंका घरबेटीले दलित समुदायको भन्ने थाहा पाएपछि कोठा खाली गर्न दबाब दिएको संसदमा जानकारी गराए ।

विश्वकर्माका अनुसार गत मंसिर १३ गतेदेखि तारकेश्वर नगरपालिका वडा नम्बर १० को एक घरमा बस्न थालेका थिए कैलाली धनगढीका दीपा नेपाली र उनका भाइ । सोही दिन बेलुका घरबेटीले नाम थर सोध्दा दलित समुदायको भएको थाहा पाएपछि भोलिपल्टदेखि नै घर खाली गर्न दबाब दिन थाले ।

घरबेटीले दीपा र भाइलाई ‘तिमीहरुले नछोडे अन्य भाडावाल पनि मेरो घरमा भाडामा बस्न मान्दैनन्’ भन्दै तुरुन्त घर छोड्नुपर्ने भन्दै मानसिक यातना दिन थाले ।

सोही कुरा मानव अधिकार आयोगको एउटा कार्यक्रममा दिपाले राख्दा कार्यक्रम आयोजकले पनि ‘मिलेर बस्नु म घरबेटीलाई फोन गरिदिन्छु’ भने र घरबेटीलाई सम्झाइ पनि दिए ।

त्यसपछि सोही घरमा बस्दै आएका दिदीभाइलाई पुनः फागुन ३ गतेदेखि घर खाली गदिदिनू भन्दै दबाब दिन थालेको सांसद विश्वकर्माले बताए । ‘परीक्षाको सयमयमा यस प्रकारको मानसिक यातना दिँदा दीपा नेपाली अत्यन्तै प्रताडित भएकी छिन्,’ विश्वकर्माले भने ।

सांसद विश्वकर्माले जातिय भेदभाव र छुवाछूतको व्यवहारविरुद्ध संविधानको धारा २४ एवं जातिय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६४ अनुसार कारबाहीको माग पनि गरेका छन् ।