कार्यक्रममै घनश्यामले गरे केपी ओलीको विरोध - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

कार्यक्रममै घनश्यामले गरे केपी ओलीको विरोध



काठमाडौं– नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको खण्डन गरेका छन् । उनले एमाले छाडेर एकीकृत समाजवादी गठन गरेका नेताहरुको अभाव खड्किने बताएका छन्।

अध्यक्ष ओलीले उनीहरूको अभाव नखड्किने बताएका थिए । उक्त अभिव्यक्तिको विरोध गर्दै भुसालले लामो समयका सहयात्रीको अभाव भैरहने बताएका थिए ।

शुक्रबार विधान महाधिवेशनस्थल गोदाबरीमा पत्रकारहरुसँग कुरा गर्दै उनले लामो समयदेखि एमालेमा लागिरहेका साथीहरुको अभावै खड्किन्न भन्नु उदण्डता हुने बताए। अभाव खड्किने भए पनि भावनाले भने पार्टी नचल्ने भुसालको भनाइ छ।

‘भावनाले चल्थ्यो भने उहाँहरु यहीँ हुनुहुन्थ्यो। उहाँहरु भावना, विवेक र राजनीतिक निर्णयका हिसाबले अर्कै निर्णय गर्नुभयो। उहाँहरुलाई पनि यस पार्टीसँग भावनात्मक सम्बन्ध थियो होला। तसर्थ भावनाको कुरा अगल हो। तर, व्यवहार र जीवनको कुरा, त्यसका वास्तविकता, व्यवहारिक कुरा फरक छन्’, उनले भने।

उनले आफूहरु एमालेभित्रका समस्या यहीँभित्र समाधान गर्न सकिने पक्षमा रहेको बताए। ‘एमालेमा यस्ता समस्या हिजो पनि आएको थियो। हामी लड्यौं। र, त्यसलाई समाधान गर्दै गयौं। विभाजन भएर पनि हामी एकै ठाउँमा भएर समाधान गर्ने दिशामा गयौं। हिजो हामीले सिकेर आएका हौं’, उनले भने।

पार्टी विभाजनअघि माधव नेपाल तथा झलनाथ खनाल पक्षमा रहेका भए पनि भुसाल सहितका केही नेताहरु अन्तिममा उनीहरुलाई छाडी एमालेमै रहेका थिए।