घनश्याम भूसालले भने: स्कुल विभागमा म भन्दा अरू उपयुक्त छैनन् - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

घनश्याम भूसालले भने: स्कुल विभागमा म भन्दा अरू उपयुक्त छैनन्



रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भूसालले आफू स्कुल विभाग सम्हाल्नका लागि योग्य रहेको बताएका छन् ।

पार्टीको नीति, सिद्धान्त र विचार निर्माणमा आफूले योगदान गरेको बताउँदै भूसालले स्कुल विभाग दिन नेतृत्वलाई आग्रह गरेका छन् । नेता भूसालले पार्टी प्रशिक्षण, माक्र्सवादलगायतका क्षेत्रमा आफूले पार्टीमात्रै नभई स्कुल–स्कूलमा समेत पढाउने गरेकाेले यो विभाग आफूलाई दिँदा सबैलाई न्याय हुने बताए ।

बिहीबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा भुसालले पार्टी सामूहिक निर्णयबाट चल्नुपर्ने बताउँदै आफूलाई न्याय गर्न नेताहरुलाई आग्रह गरे । उनले भने स्कुल विभागमा म भन्दा अरूलाई उपयुक्त नहुने समेत जिकिर गरे ।

प्रतिनिधिसभा सदस्य समेत रहेका भूसालले तत्कालिन एमालेको नवौं महाधिवेशनबाट आफू उपमहासचिवमा निर्वाचित हुँदा पनि गुटका कारण स्कुल विभाग नदिइएको दाबी गरे । उनले पार्टीलाई गुट, रिसराग, पुरानो कुण्ठाभन्दा माथि राखेर सञ्चालन गरे सरकारले गरेका राम्रा काम जनतासम्म पुर्याउन सबै एकजुट भएर लाग्ने बताए ।

अहिले नेकपामा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीच स्कुल विभाग कसले पाउने भन्ने विवाद छ । बिहीबार लुम्बिनी प्रेस क्लब, सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भूसालले पार्टी सामूहिक निर्णयबाट चल्ने, नेताहरुको योगदानको मूल्यांकन गर्ने र गुटगत स्वार्थभन्दा माथि उठ्ने हो भने स्कुल विभाग आफूलाई दिँदा न्यायोचित हुने बताए।

उनले पार्टी सामूहिक निर्णयबाट नचल्दा चाहे जति काम गर्न नसकेको र केही महत्वपूर्ण र राम्रा विधेयक पनि फिर्ता लिनुपरेको उल्लेख गरे। पछिल्लो समय कम्तिमा पार्टीमा छलफलको सुरुवात भएको भन्दै यसले सरकार र पार्टी जीवनमा ठूलो प्रभाव पार्ने बताए।

पार्टीमा सिद्धान्त र विचार कमजोर हुँदै गए आफूले निरन्तर विरोध गरिरहने प्रष्ट पार्दै भूसालले सरकारले निकै राम्रो बजेट ल्याएकोले अब त्यसलाई कार्यान्वयन गरी असारे विकासलाई रोक्नुपर्नेमा जोड दिए।