गजल
निमुखाको रगत चुसी अघाएको समाज
खोज्दाखोज्दै अस्तित्व हराएको समाज
भलाइको अर्थ छैन मिलापका के कुरा
स्वार्थरुपी आँकुराले पलाएको समाज
पुजा गर्नु बेकार छ आस्थाका यी मुर्तिहरु
अमूर्त ती प्रतिमाले बनाएको समाज
निर्मल जल बगाउन परै जाओस् आज
दीनदुःखीका अश्रुधार बगाएको समाज
मन्द आवाज बिलाउँदै जान्छ कता कता
ठालुहरुले निर्धक्क भई चलाएको समाज
रश्मिला कवाङ ‘रश्मि’