गजल - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

गजल



यो आगो किन झोसियो घर भरी सारा खरानी भयो।
गर्दै छौ किन युद्ध यो मनपरी सारा खरानी भयो।।

सुस्ताको तन बेचियो विलीन भो पल्लो किनारातिर,
रुन्छिन् यी जननी अहो! धरधरी सारा खरानी भयो।।

मेरो सुन्दर देशको लुटिन गो सौन्दर्य लाली कला,
के आशा छ छरोस् ध्वजा फरफरी सारा खरानी भयो!!

राख्दै छौ किन द्वेष भेद मनमा डाँडा पखेरासित,
के नाता सब चर्कियो चरचरी सारा खरानी भयो।।

ए साथी बिधवा बन्यो रहर यो रित्तो छ पाखा पनि,
झर्दै छन् भल आँसुका झरझरी सारा खरानी भयो।।

दीप मिलन
रुद्रपुर रुपन्देही
हाल दोहा कतार
१३ जेष्ठ २०७३