गाउँपालिकाका अध्यक्षलाई गाउँलेले कुटे - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

गाउँपालिकाका अध्यक्षलाई गाउँलेले कुटे



बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात भएको जनाइएको छ ।

मंगलबार अपराह्न स्थानीय बलबहादुर भण्डारीसहित ५/६ जनाको समूहले उनीमाथि आक्रमण गरेको आरोप लगाइएको हो ।

रोडीदेवलदेखि पञ्चेश्वर गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका विषयमा छलफल गरेर फर्कंदै गर्दा भण्डारीसहित ५/६ जनाको समूहले आक्रमण गरेको अध्यक्ष चन्दले बताए ।

‘सडकका विषयमा छलफल गरेर वडा नम्बर–४ का अध्यक्षसँगै फर्किरहेको थिएँ’–अध्यक्ष चन्दले भने–‘एक्कासि ममाथि हातपात भयो ।’

अध्यक्षसँगै रहेका वडाध्यक्ष राजबहादुर चन्दकाअनुसार सडकको छलफल सकेर कुलाउँ फर्कनेक्रममा बीचजंगलको बाटोमा अध्यक्ष चन्दमाथि हातपात भएको हो ।

‘४/५ जनाको समूह आएर उहाँमाथि लट्ठीले आक्रमण गर्‍यो’–उनले भने–‘हामीले तपाइँ भाग्नोस् भन्यौं । त्यसपछि उनीहरुले ढुंगा फ्याँकेर आक्रमण गरे ।’

यद्यपि, उनलाई कुनै चोटपटक नलागेको र भागेर जोगिन सफल भएको जनाइएको छ ।

अध्यक्ष चन्दमाथि हातपातको आरोप लागेको समूह फरार भएको छ । अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको र हातपात गर्ने समूहको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटना के–कति कारणले भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताए ।