राष्ट्रपति निर्वाचनको भोलिपल्टै सत्ता गठबन्धनमा खटपट - Himal Post Himal Post
  • १४ आश्विन २०८१, सोमबार
  •      Mon Sep 30 2024
Logo

राष्ट्रपति निर्वाचनको भोलिपल्टै सत्ता गठबन्धनमा खटपट



काठमाडौं–राष्ट्रपति निर्वाचनको भोलिपल्ट नै सत्ता गठबन्धनमा खटपट देखिएको छ । रामचन्द्र पौडेललाई सर्वसम्मत उम्मेदवार बनाएर मैदानमा उतारेका कांग्रेससहितका सत्तारुढ गठबन्धनका नेताहरूबीच उपराष्ट्रपतिको विषयमा भने खटपट देखिएको छ।

जसपाको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले सांसद रामसहाय यादवलाई आगामी उपराष्ट्रपति पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको थियो। बैठकले गठबन्धन दलको सहमतिअनुसार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले बताएका थिए।

तर जसपा निर्णयको भोलिपल्टै गठबन्धनमै आबद्ध नागरिक उन्मुक्तिले आफ्नै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिमा उठाउने निर्णय गरेको छ। यसलाई सत्तारुढ गठबन्धनभित्र उपराष्ट्रपतिको विषयलाई लिएर खटपट भएको संकेतका रुपमा बुझ्न सकिन्छ।

यस्तै जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । जनमतले शुक्रबार नै पार्टीको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

पार्टीका एक नेताका अनुसार अध्यक्ष चन्द्रकान्त ‘सीके’ राउतले उपराष्ट्रपतिमा झाको नाम अगाडि सारेका छन् । ममत झा यसअघि स्थानीय तह निर्वाचनमा सप्तरीको राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन् । उनी पार्टीको सप्तरी जिल्ला इन्चार्जसमेत हुन् ।

शुक्रबार मात्रै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि उपराष्ट्रपति विषयमा हालसम्म गठबन्धनभित्र कुनै सहमति भइनसकेको खुलासा गरेका छन्। जसपा अध्यक्ष उपेन्द्र भने उपराष्ट्रपति उम्मेदवारमा सांसद रामसहायलाई मैदानमा उतारेर आफू सिराहा २ बाट उपनिर्वाचनमार्फत सिंहदरबार भित्रन चाहन्छन्। यसअघि गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा उनी जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएका थिए।

उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता शनिबार हुँदै छ भने ३ चैतमा निर्वाचन गर्ने कार्यतालिका छ।

नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा रञ्जितालाई उठाउने निर्णय गरे पनि उनी नेपालको संविधान अनुसार अयोग्य देखिएकी छन्। राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने संवैधानिक व्यवस्था छ। तर, रञ्जिताको हालको उमेर ४० वर्षमात्रै रहेको संसद सचिवालयको रेकर्डमा उल्लेख छ।

आयोग कठोर

निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्ने संकेत देखाएको छ। शुक्रबार बसेको आयोगको बैठकले राष्ट्रपतिको पदमा खासआर्य समुदायका पुरुष (रामचन्द्र पौडेल) निर्वाचित भएकाले उपराष्ट्रपतिमा फरक लिंग वा फरक समुदायको मात्र उम्मेदवार हुन सक्ने निर्णय गरेको हो।

बैठकपछि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिंग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ।’

संविधानको धारा ७० मा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा लेखिएको छ, ‘यस दफाबमोजिम उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो, सोभन्दा फरक लिंग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्नेछ।’

आयोगका पत्रानुसार अब उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता हुन असम्भव छ। पुरुष व्यक्तिमा पौडेल राष्ट्रपति निर्वाचित भइसकेकाले त्योभन्दा फरक (महिला वा अन्य) लिंगबाट उम्मेदवार हुनुपर्छ। त्यो भनेको जसपाले उपराष्ट्रपति उठाउने घोषणा गरेका रामसहाय यादवको सट्टा रञ्जित श्रेष्ठ उम्मेदवार हुन सक्नेछन्।