गठबन्धन सकियो- कांग्रेसले धोका दिएको माओवादीको निष्कर्ष - Himal Post Himal Post
  • ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
Logo

गठबन्धन सकियो- कांग्रेसले धोका दिएको माओवादीको निष्कर्ष



सत्ता गठबन्धनमा अब सहमति नहुने निष्कर्षमा नेकपा माओवादी केन्द्र पुगेको छ । बालुवाटारमा लागातार भइरहेका बैठक र छलफलमा कांग्रेस झन् कसिलो भएको महसुस माओवादीले गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिनै लाग्दा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद आफैले राख्ने अडान झन् जोडतोडका साथ उठाएको छ ।

छलफलमा कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री पदका लागि झन् कठोर बनीपछि माओवादी केन्द्र अब यो गठबन्धनभित्र सहमति नबन्ने निष्कर्षमा पुगेको हो।

गठबन्धनको बैठक आईतबार बिहान पनि बस्दैछ । आइतबार बिहान हुने बैठक निर्णायक हुने बताइएको छ । आज अपरान्ह राष्ट्रपतिले दिएको समयसीमा सकिनेछ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउनुपर्ने अडानमा माओवादीका नेताहरू छन् । यसअघि माओवादीको समर्थनमा देउवा प्रधानमन्त्री भएकाले अहिले माओवादीले दाबी गरिरहेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि सहमती जुट्ने भन्दा असहमती झन् बढ्नेजस्तो देखिएको माओवादीका एक नेता बताउँछन्।

यसअघि चुनावपछिको प्रधानमन्त्री तपाईं हो भनेर प्रधानमन्त्री देउवाले नै प्रचण्डलाई चुनावअघि आश्वासन दिएका थिए । अहिले देउवाले प्रचण्डसँग गरेको बाचाअनुसार नचलेको नेताहरूको आरोप छ ।

देउवाले गरेको सहमति र बाचानुसार चल्ने हो भने अहिले प्र बन्दलाई आफैंले अगाडि सार्नुपर्ने माओवादीका नेताहरूको दाबी छ । उनीहरूका अनुसार देउवालाई यसपटक प्रधानमन्त्री नछोड्ने उनकै नजिकको समुहले उक्साइरहेको छ ।

देउवा निकट कांग्रेसका नेताहरू राष्ट्रपति र प्रधानमन्त्री पद कांग्रेसले छाड्न सक्दैन भन्दैगर्दा देउवा भने खासै बोलेका छैनन्। उनले अन्य नेताहरूलाई प्रयोग मात्रै गरेका छन् ।

नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको १० पुससम्मको समय घर्किन लाग्दा सत्ता गठबन्धनमा सहमति जुट्नुभन्दा असहमति झन् बढेको हो।

आइतबार राष्ट्रपतिले दिएको समय नजिकिँदै गर्दा शनिबार कांग्रेसका नेता पूर्णबहादुर खड्का र रामचन्द्र पौडेल प्रचण्ड निवास खुमलटार पुगे भने दिउँसो बालुवाटारमा गठबन्धनको बैठक बस्यो। तर सहमति जुट्नुको साटो असहमति झन् बढ्ने अवस्था देखियो ।

माओवादीका ती नेताका अनुसार अब राष्ट्रपति र प्रधानमन्त्री पद कांग्रेसले नछाड्ने हो भने माओवादी कांग्रेससँग किन बस्नुको औचित्य नभएको पुष्टि हुन्छ ।

यता कांग्रेस नेता भने ठ्याक्कै उल्टो तर्क गर्छन्, उनका अनुसार प्रचण्डले पहिलो चरणमा प्रधानमन्त्री हुने अडान लिएपछि परिस्थित जटिल भएपनि देउवाले पार्टीभित्र छलफल गरिरहेका छन्।

तर देउवाको निकट नेताहरूले कुरा बिगारेको माओवादी नेताहरूलाई लागिरहेको छ। स्वयं देउवाले नै हुन्न भनेका छैनन् । हुन्न भन्ने काम सबै नेताहरूलाई लगाएका छन् ।
आइतबार १० बजे फेरि गठबन्धनको बैठक बसेर छलफल गर्ने र सहमति खोज्ने तयारी छ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद नछाडेको अवस्थामा माओवादी गठबन्धनबाट बाहिरिएर एमालेसँग गठबन्धन गर्ने मनसायमा छ । एमाले–माओवादी सहित नयाँ गठबन्धन बन्नेमा स्पष्ट खाका नबनेपनि नेताहरू भने भित्रभित्रै लागिरहेका छन् ।

यता एमाले अध्यक्ष केपी ओलीले आइतबार भएको एक कार्यक्रममा प्रचण्डले गठबन्धन छोड्न ढिला गरेको भन्दै दवाव बढाएका छन् । ‘समयमै निर्णय गर्न नसकेकाले अब प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना सकियो’ भन्दै ओलीले दवाव बढाएका हुन ।

बिहीबार माओवादीको बैठकमा प्रचण्डले एमालेबाट प्रधानमन्त्री बन्ने प्रस्ताव आएको ब्रिफिङ गरेका थिए।प्रचण्डलाई प्रधानमन्त्रीको अफर गर्दा एमालेले राष्ट्रपति र सभामुख पद आफुले राख्न चाहेको छ।

कांग्रेसले राष्ट्रपति, प्रधानमन्त्री छाड्न नमानेपछि एमालेसँग वैकल्पिक गठबन्धनबारे छलफल अघि बढाए पनि प्रचण्ड एमालेसँग पनि त्यत्ति आश्वस्त हुन सकेको देखिँदैन।